काठमाडौँ । पछिल्लो दुई वर्षमा ८९ लाख डिजिटल वालेट प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो दुई वर्षमा ८९ लाख ३९ हजार १ सय २९ जना डिजिटल वालेट प्रयोगकर्ता थपिएका हुन् ।
योसँगै २०८१ बैशाख मसान्तसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको संख्या २ करोड २६ लाख १५ हजार १ सय २२ जना पुगेको छ । त्यस्तै, यस अवधिमा डिजिटल वालेटमार्फत भएको कारोबार रकम २८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । जबकी दुई वर्षअघि डिजिटल वालेटमार्फत भएको कारोबार रकम १७ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
यता समीक्षा अवधिमा डिजिटल वालेटसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पनि बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०८१ बैशाख मसान्तसम्म आइपुग्दा २ करोड ३७ लाख ९७ हजार पुगेको छ ।
त्यस्तै, २०७९ असारसम्म १६ लाख ८४ हजार रहेको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि २०८१ बैशाखसम्म झण्डै २ लाखले बढेर १९ लाख ३८ हजार ८ सय ८८ जना पुगेको छ ।
यसअवधिमा डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै कनेक्ट आईपीएस प्रयोगकर्ता पनि बढेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार यसअवधिमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या साढे २ लाखले बढेर ८ लाख ९६ हजारबाट १२ लाख ५१ हजार पुगेको छ । त्यस्तै, कनेक्ट आईपीएसमार्फत यसअवधिमा ५ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।