×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा जान्नैपर्ने ९ कुरा र आधा दर्जन टिप्स, नमाने घाटा, पछ्याए मालामाल ! (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा जान्नैपर्ने ९ कुरा र आधा दर्जन टिप्स, नमाने घाटा, पछ्याए मालामाल ! (भिडियो ब्रिफिङ) 

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार अवसरको उत्तम उद्गमस्थल त जरुर हो । सँगै एउटा नमिठो सत्य के हो भने सेयर बजारका ट्रेडरहरुमध्ये ९० प्रतिशतले बजारमा खाने घाटा नै हो । अझ जव जव बजार बढ्न थाल्छ, सेयर लगानीकर्ताहरुमध्ये धेरैलाई ट्रेडर बनिहाल्ने, छिटो कमाइहाल्ने भुत सवार हुन्छ । खातामा पैसा देख्यो कि कुन सेयर किनौँ, कुन किनौँ भन्ने लागिहाल्छ । यसरी सेयर किन्दा बुझेर, अध्ययन गरेर किने त त्यो पनि राम्रै हुने थियो, अधिकांश ट्रेडर अरुलाई सोधेर सेयर किन्ने गर्छन् नेपालमा । यसो बजार डुल्यो, मेसेन्जर वा ह्वाट्सएप चाहर्यो, फोन घुमायो, सोध्यो अनि किन्यो । कतिलाई त किनेको कम्पनीले के गर्छ वा कुन सेक्टरमा पर्छ भन्नेसमेत थाहा हुँदैन ।

अझ रमाइलो कुरा त १०-२० कित्ता त्यो पनि सोधेर किन्नेबित्तिकै त्यो लगानीकर्ता विश्लेषक बनिहाल्छ । आफूले नकिनेसम्म बजार कन्फर्म घट्ने हो भनेर फेक आईडीबाट दिनभरमा ४-५ स्टाटस लेख्न भ्याउने उ जव आफू केही कित्ता सेयर किन्छ, तव ३२००, ४०००, ५००० को सपना बाँड्न थालिहाल्छ । तर निर्मम सत्य के हो भने, यसरी सेयर घट्छ र बढ्छ भनेर मात्र रोइलो गर्ने, सामाजिक संजालमा फेक आईडी बनाएर कुण्ठा मात्र पोख्ने, सेयर बजार वा कम्पनीबारे अध्ययन नगर्ने र लहैलहैमा स्क्रिप्टको प्रचारबाजी गर्नेहरुले यो बजारमा खाने, १ घाटा हो, २ घाटा हो, ३ घाटा हो । उनीहरुका लागि यो बजार पैसा गुमाउने र अनुभव कमाउने ठाउँमात्र हो । गत बुलमा पनि भएको यही हो, यसपालिको बुलमा पनि हुने यही हो । अहिले बजारमा नयाँ फेक आईडीबाट किनेको सेयरको बढाईचढाई र बेचेको सेयरको सत्तोसराप गर्नेहरु देख्नुभएको छ नि, ती पनि यो बुलमा अन्तिममा घाटा खाएर सके पलायन हुने, नसके खाडी तिर जाने, त्यो पनि नसके, काशी, वृन्दावन गएर जोगी बन्ने पक्काप्राय छ ।

त्यसैले, सेयर बजारमा लगानी गर्दा हौसिएर होइन, होस् पुर्‍याएर गर्नुपर्छ, पल्लो घरको आन्टीलाई सोधेर, काकासँग फोनमा कुरा गरेर, मामासँग च्याट गरेर होइन, बुझेर, अध्ययन गरेरमात्र सेयर बजारमा लगानी गर्नुपर्छ । बुल आउनेबित्तिकै सबैले पोर्टफोलियोमा हुलका हुल हात्ती छिराउन सक्ने भए यतिका धेरै मान्छे नेपालमा सेयर बजारकै कारण डिप्रेसनमा कहाँ जान्थे र ? त्यसैले सोचेर, बुझेर, जानकारहरुका कुरा सुनेर, मनन गरेर, अध्ययन गरेर मात्र सेयर बजारमा लगानी गर्नु उचित हुन्छ ।

भनिन्छ नि, अनुभवले मान राख्छ । बजार बढ्छ भन्ने भर्खर देखेकाहरु पनि छन् यो बजारमा । बजार भनेको त घट्ने मात्रै हो भन्ने सोचेकाहरु आफ्नो हराएको मेरो सेयरको लगइन खोज्दैछन् यतिबेला । जोसमा होस् गुमाउँदा सेयर बजारमा घाटा पनि हुन सक्छ, किनकि यो जोखिमको क्षेत्र हो । र त हामीले आजको अंकमा सेयर गुरुका रुपमा परिचित सुबास चन्द्र भट्टराईका सेयर टिप्स लिएर आएका छौँ । हामीले गरेका दर्जनौँ सेयर तालिममा भट्टराईले दिएका टिप्स र उनले सामाजिक संजालमा दिएका ज्ञानलाई एकतृत गरेर तपाईंको ध्यानमा ल्याउँदैछौँ । कारण संघर्ष र पीडाको काप फोरेर उम्रिएको अनुभवभन्दा ठुलो केही छैन, हुनैसक्दैन ।

सुबासचन्द्रका अनुसार सेयर बजारमा लगानी गर्नेहरुले यी १० कुरा बुझ्नैपछः
१. सेयर बजार सल्लाह सल्लाहको बजार हो । हल्ला हल्लाको बजार होईन । अर्थ मन्त्रालय, रास्ट्र बैंक, बिमा प्राधिकरण, धितोपत्र बोर्ड, नेप्से, लगानीकर्ताको संगठन प्राय सल्लाहाभन्दा बढी हल्ला गर्छन् । सेयर बजार लगानी गर्ने प्लेटफर्म हो, जुवा घर वा क्यासिनो होइन । त्यसैले सेयर बजारलाई जुवाघरको रुपमा लिनु हुँदैन ।

२. सेयर बजारले मुद्रास्फीति अर्थात ’इन्फ्ल्यासन’लाई बिट गर्छ । संसारका सबै अरबपति सेयर बजारले गर्दा उनीहरुको लगानीको सेयरको भाउ बढेर भएका हुन् भन्ने बिर्सनु हुँदैन ।

३. सेयर बजारको अन्त्यको परिकल्पना गरिएको छैन । नसोचिएको प्रतिफलको आशाको केन्द्रविन्दु हो सेयर बजार ।

४. सेयर शिक्षा पढेर सकिने विद्या होइन । नीति नियम समय अनुसार बदलिदैन जान सक्छ । त्यसैले अनुभव हासिल गर्दै अगाडि बढ्ने थलो हो सेयर बजार ।

५. नयाँ लगानीकर्ताको पहिलो ब्यापार होइन र हुनुहुँदैन सेयर बजार । बरु, आफ्नो सहायक सम्पत्ति बढाउने व्यापार हो भन्ने बुझ्नुपर्छ । आईपीओ पर्न छोड्यो भनेर भर्न छोड्नु हुँदैन ।

६. सेयर बजार घ्युजस्तो हो, विस्तारै जिउमा लाग्छ । सेयर बजार रक्सीजस्तो आजै लाग्दैन ।

७. निराशावादीका लागि सेयर बजार हुँदै होइन । बरु सय बजार, आशावादीहरुको केन्द्र हो ।

८. एक जनाको सोचले खुलेको कम्पनीले लाखौं जनालाई आर्थिक समृद्धि ल्याईदिने क्षेत्र हो सेयर बजार । त्यसैले धनीलाई नकारात्मक भावनाले हेर्नुहुदैन । उनीहरु सँगसँगै हामीले पनि प्रगति गर्ने हो भनेर अगाडि बढ्नु पर्दछ ।

९. आफ्नो कुल सम्पत्ति जति छ, त्यतिको ८०÷९०% सम्पत्तिले कमाउने सम्पत्तिमा लगाउनु भयो भने तपाईंको आर्थिक प्रगति हुनेछ । महँगो मोबाइल, घडी, दराज, सुन, सवारीसाधन आवसीय घरभन्दा कमर्सियल सेयर,घर/जमिन, ऋणपत्र, म्युट्युअल फण्ड, एसआईपी, मुद्दती निक्षेप, बचत, जीवन बिमा, कृषि जमिन, मेसिनरी औजार, पशु पालन, नै उत्तम हो ।

१०.  सेयर किन्दा किनेपछि म राती निदाउन सक्ने कम्पनीको सेयर खरिद गर्छु भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ भने कुन सेयर किन्ने भन्ने निर्णय गर्नु अघि, लगानीको समय र आशा गरेको प्रतिफल, लगानीको उद्देश्य, रिस्क लिन सक्ने क्षमता, तपाईसंग भएको ज्ञान र धैर्यता, लगानी योग्य रकम र लगानीको लागत, तपाइले शेयर मार्केटमा दिन सक्ने समय, दवाब थेग्ने क्षमताबारे ख्याल गर्नुपर्छ ।

यसलाई अव बुँदागत रुपमा हेरौँः
१. लगानीको समय, उद्देश्य र आशा गरेको प्रतिफल , अल्पकालीन लगानी तथा कारोबारबारे बुझ्नुपर्छ । तपाईंको लगानी अल्पकालीन हो भने, आधारभूत पक्ष भन्दा पनि टेक्निकलको तालिम लिएर बजारमा लगानी गर्नुभयो भने राम्रो प्रतिफल हुन सक्छ, शतप्रतिशत नमिले पनि मानवीय व्यवहार बुझ्ने राम्रो माध्यम टेक्निकल एनालिसिस हो । तर नेपाली बजारको डाटा सिष्टम, हल्लामा केन्द्रीत कारोबारले टेक्निकल एनलाईसिसलाई धेरैजसो फेल खुवाउने गरेको छ । यद्यपि बजार ब्यवस्थित हुँदै जाँदा यो पनि भरपर्दो हुँदै जान्छ । यो पक्षलाई ख्याल गर्नुपर्छ ।

२. खातामा सेयर आउन कति समय लाग्छ,कति मूल्य बढ्छ र कति सप्लाई आउन सक्छ पनि विचार गर्नुपर्छ । धेरै लगानीकर्ता यहि तथ्य नबुझेर फसेका छन् ।

३. नेपाल धितोपत्र बोर्डले भित्री कारोबारमा लगाम लगाउन नसकेको कारणले गर्दा राम्रा भनिएका कम्पनीमा पनि फस्न सक्ने सम्भावना नकार्न सकिदैन । कर्नरिङ गरेर फन्डामेन्टल सपोर्ट नभएका कम्पनीहरुको कृतिम कारोबारले प्राबिधिक बिश्लेषणलाई प्रभावित पारिरहेका हुन सक्छन्। यसमा ख्याल गर्नुहोला ।

४. नियामकमा बस्नेहरु नै ठुला लगानीकर्ता हुँदा पोलिसी करप्सनले इन्साइडर कारोबारलाई फराकिलो बनाइरहेका छन् । यसमा पनि ध्यान दिनुपर्छ । आधारभूत पक्ष राम्रो नभएको कम्पनि ‘ट्रेड’ गर्न भनेर किनेर घट्यो भनेर इन्भेस्टमेन्टको रुपमा परिबर्तन नगर्नु होला ‘प्रोपर स्टप लस’ लगाएर मात्र कारोबार गर्नु होला, त्यस्ता स्टकहरु बढ्दाभन्दा धेरै स्पिडमा घट्ने गरेको हुन्छन् । एक हप्ता, एक महिनामा यति नाफा कमाउँछु भन्ने उद्देश्य राख्नुहुन्छ भने त्यति नै गुमाउन पनि तयार हुनुपर्छ ।

५ फेसबुक र भाईबर ग्रुप तथा क्लब हाउसमा सुनिने विज्ञ÷विश्लेषक र खेलाडीहरुका कुरा त सुन्नुपर्छ तर उनीहरुले दिएको सूचना भेरिफाई नगरी कारोबार गर्नु हुँदैन । उनीहरुले ‘पम्प’ गरिसकेका स्टक ‘डम्प’ गर्नका लागि ‘मुर्गा’ खोजिरहेका पनि हुनसक्छन् ।

६. दिर्घकालिन लगानीको लागि सेयर किन्दा राम्रो हुन्छ । नगद तरलताको ब्याकअप राख्नु राम्रो हुन्छ । दिर्घकालिन लगानीले जहिले पनि राम्रो स्टक फिल्टर गरेर लिने गर्नुपर्छ ।

७. सकेसम्म ऋण लिएर लगानी नगर्नुहोला । तर ऋण लिएर लगानी गरे पनि कम्पनीले दिने लाभांशले ब्याज खर्च धान्न सक्छ भने ढुक्क भएर गरे हुन्छ । यसैले नियमित लाभांश दिइरहेका र मध्यम पूँजी, अझ पूँजीवृद्धिको आवश्यकता भएका कम्पनीहरु छान्दा राम्रो हुन्छ ।

अव समग्रमा सेयर बजारमा सेयर किन्दा के के कुरामा ध्यान दिने भन्ने विषयलाई सारांशमा हेरौँः
१. धेरै बिक्री हुने सेयर छान्ने ।
२. नाफा संचित गर्ने ।
३. सधै स्टप लसको हतियारका लागि तयार हुने । ८-१३% घाटामा निस्किने वा जोखिम कम लिने।
४. ब्रेकआउट पोइण्ट, बाइ सिग्नल ध्यानमा राख्ने ।
५. आफ्नो गज्छेभन्दा बढी लगानी नगर्ने।
६. मार्केटको विरुद्धमा नजाने÷ट्रेन्डलाई फलो गर्ने ।
७. भ्लतचथ र भहष्त उयष्लत पत्ता लागाउनु वा थाहा पाएर निस्किनु वा पस्नु पर्छ। आवश्यकता अनुसार होल्ड पनि गर्नु पर्छ ।
८. लगानीगर्दा संस्थाको बारे बुझेर, अध्यन गरेर मात्र लगानी गर्नु पर्छ ।
९. लगानीको १० % नगद होल्ड गर्नुपर्छ ।
१०. लगानीकर्ताको सेन्टिमेन्ट बुझ्ने र बजारमा लगानी गर्ने गर्नुपर्छ ।
११. सेयर बजार समुन्द्र हो । छालको बिपरित तिर पौडी खेल्नु जोखिम मोल्नु हो । छाल जतातिर जान्छ आफू उतैतिर जाने गरियो भने भलो हुन्छ ।
१२. अनुशाशित भएर लगानी गर्नुपर्छ ।
१३. स्विङ, ब्रेकआउट, पोजिसन ट्रेडबारे सतर्क र सचेत रहनुपर्छ ।

यी टिप्स हिजोको आज बुझेको चीज होइन । सुबासचन्द्र भट्टराईले बर्षौं गरेको अनुभवको नतिजा हो । यति गरे, सेयर बजारमा गरेको लगानी खेर जाँदैन । बरु मनग्य नाफा हुन्छ । बजारको हल्ला र लहैलहैमा लाग्नेहरुले त बजारमा फेरी पनि खाने घाटा नै हो भन्ने तथ्य अव बुझ्न ढिलो गर्नुहुँदैन । बाँकी त पैसा तपाईंको, टिएमएस तपाईंको । नाफा भए नाफा पनि तपाईंको, घाटा भए, घाटा पनि तपाईंको । आगे त तपाईंकै मर्जी । (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी