काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ६६.९३ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले कुल ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३६ करोड १३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेपछि खुद नाफा वृद्धि भएको हो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.४२ प्रतिशतले बढेको छ ।
त्यस्तै, असार मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी ७.०८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३० करोड ४० लाख रुपैयाँ रहेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज ५२ करोड २६ लाख रुपैयाँ रहेको थियो ।
नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस ७ रुपैयाँ ३७ पैसाले बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ ।