काठमाडौँ । नीति गतिलो भएपछि बजारमा थिति बस्छ । थिति बसेपछि परिस्थिति बदलिन्छ । र बदलिन्छ के हुने हो भन्ने आम सर्वसाधारणको दोधारे तनाव, अनि लिन्छ बजारले गति । जव बजारले गति लिन्छ, तब लगानीकर्ताको प्रगति हुन्छ । यसपटकको मौद्रिक नीतिले पनि खास सकारात्मकता दिएको छ । निर्माण व्यवसायीलाई त सोचेको भन्दा बढी दिएको छ मौद्रिक नीतिले । बैंकहरुलाई राहतको स्वास फेर्ने ठाउँ दिएको छ, ऋणीलाई ऋण तिर्न समय दिएको छ । समग्रमा यसपटकको मौद्रिक नीतिले मन्दी विस्तारै हट्दैछ भन्ने सन्देश दिएको छ । सेयर लगानीकर्ताहरुलाई पनि नयाँ उत्साह दिएको छ । धेरैपछि लचिलो मौद्रिक नीति ल्याएर राष्ट्र बैंकले सबैको मन जितेको छ । सधैँ राष्ट्र बैंकलाई गाली गर्ने सेयर लगानीकर्ताहरुले समेत गभर्नरलाई धन्यवाद भन्नेगरी आएको मौद्रिक नीतिले लयमा लाग्न लागेको बजारलाई थप उत्साहित बनाएको छ ।
अव लागौँ सेयर बजारतर्फ । सेयर बजारका लागि पनि धेरै पछि मौद्रिक नीति सकारात्मक आएको छ । संस्थागततर्फको सेयर धितो कर्जा सिमा खारेज भएको छ । यसले प्रत्यक्ष रुपमा बजारमा उत्साह थपेको छ । अर्कोतर्फ मौद्रिक नीतिमार्फत आएको थुप्रै व्यवस्थाले थप उर्जा दिएको छ, सेयर बजारलाई ।
मौद्रिक नीति र यसको प्रभावः
१. मौद्रिक नीतिले सेयर धितो सीमा संस्थागत तर्फ खारेज गरिदिएपछि यसले बजारलाई थप चलायमान बनाउनेछ । सेयर किन्न चाहने संस्थागत लगानीकर्ताले जति पनि ऋण लिन पाउने भएपछि यसले बजारमा आउने लगानी बढाउनेछ । यसले बजारलाई थप चलायमान बनाउनेछ । बैंकहरुमा सेयर कर्जा बढाउने यो नीति सेयर बजारका लागि सकारात्मक मात्र होइन, बुलको आगोमा यो नीतिले घ्युको काम गर्नेछ ।
२. निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाइनेछ भन्ने नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी ब्यवस्था र निष्क्रिय कर्जा रकम घट्न गई मुनाफामा वृद्धि हुने देखिन्छ । यसले पनि बजारलाई थप चलायमान बनाउने देखिन्छ ।
३. परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिने भन्ने नीतिले लघुवित्तहरुको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुने, यसले गर्दा लघुवित्तहरुको निष्क्रिय कर्जा घट्न जाने र मुनाफा बढ्ने देखिन्छ । यसले पनि सेयर बजारलाई राम्रै सकारात्मकता दिने देखिन्छ ।
४. बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ भनी आएको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको वितरण योग्य नाफामा वृद्धि हुने देखिन्छ । यसले पनि सेयर बजारलाई राम्रै सकारात्मक असर गर्ने देखिएको छ ।
५. बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्ज‘मा गरी नेपाल सरकारसमक्ष पेश गरिनेछ भन्ने मौद्रिक नीतिको व्यवस्थाले ब्ःऋ को स्थापना भएमा, बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सहज हुने जसले गर्दा बैकिङ्गको निष्क्रिय कर्जा कम हुने र मुनाफामा सकारात्मक असर पर्ने देखिन्छ । यसले पनि सेयर बजारलाई थप चलायमान बनाउनेछ ।
६.सेयर बजार चलायमान बन्न सेयर बजारसम्बन्धि सिधा व्यवस्था आउनु पनि पर्दैन, मात्र बजार चलायमान गर्न सहयोग हुने नीति आए हुन्छ । जस्तै, बैंकहरुका ऋण लगानी बढाउन, पुँजीकोष ब्यवस्थापन, जोखिमभार लगायतका अधिकांश माग सम्बोधन भएका छन् । अझ साउनमा पाकेको ब्याजलाई अघिल्लै आर्थिक बर्षमा गणना गर्न पाउने नीतिले बैंकहरुको नाफा बढ्नेछ । नाफा बढ्नु वा घाटा कम हुनु दुवै सेयर बजारका लागि सकारात्मक कुरा हुन् । अर्कोतर्फ घरजग्गा कारोबारको जोखिमभार घट्नेगरी आएको मौद्रिक नीतिले घरजग्गा कारोबारलाई पनि थप प्रोत्साहित गर्नेछ । यसले अर्थतन्त्रलाई थप चलायमान बनाउँदा सेयर बजारमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्नेछ ।
७. निर्माण व्यवसायीलाई त दशैं नै आउनेगरी आएको छ यसपालीको मौद्रिक नीति । यसले पनि बजारलाई थप चलायमान बनाउने कुरामा कुनै पनि शंका छैन ।
समग्रमा भन्दा यसपटकको मौद्रिक नीति औसतभन्दा धेरै राम्रो र सम्भावित बुललाई थप सहयोग गर्नेगरी आएको छ । र त अग्रज सेयर लगानीकर्ताहरु पनि खोजेजस्तो र मागेजस्तो नआए पनि सेयर बजारका लागि मौद्रिक नीति सकारात्मक आएको बताउँछन् ।
हरेक बर्ष राष्ट्र बैंकले पेल्ने अनि सेयर लगानीकर्ताले गभर्नरलाई गाली गर्ने अभ्यास यसपटक अन्त्य भएको छ । राष्ट्र बैंकले पनि सन्तुलित नीति ल्याएर सबैलाई सन्तुष्ट बनाउने र मन्दी सकिने बाटोमा देश रहेको सन्देश दिन खोजेको छ । सेयर बजार चलायमान नहुने त कुरै भएन । सेयर बजारमैत्री नीति जो आएको छ ।
यद्यपि सेयर बजार जोखिमको क्षेत्र हो भन्ने बिर्सनु हुँदैन । किन्ने बेलामा हुने नहुने कम्पनी किन्ने अनि घाटा भएपछि अरुलाई सराप्ने प्रवृति भएकाहरुले यो बजारमा खाने घाटा नै हो । त्यसैले, सोचेर बुझेर लगानी गरे तपाईंको पक्कै भलो हुन्छ । बाँकी त हामीले हिजो पनि भन्दै आएको हो, आज पनि भन्छौँ, पैसा पनि तपाईंको, कारोबार पनि तपाईंको । घाटा भए, घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको । (भिडियो)