काठमाडौँ । जापानको सेयर बजारमा इतिहासकै उच्च गिरावट आएको छ । जापानको सेयर बजार मापक निक्केई २२५ इन्डेक्स ४४५१ अंकले घटेको हो । यो जापानको सेयर बजारको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो घटाई हो ।
यसअघि सन् १९८७ को अक्टोबरमा एकैदिन निक्केई इन्डेक्स ३८३६ अंकले घटेको थियो । त्यसयता भने निक्केईमा त्यति ठूलो गिरावट आएको थिएन ।
तर, अमेरिकी अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव विश्व बजारमा पर्दा जापानको सेयर बजारले एकैदिन ठूलो नोक्सानी बेहोर्नुपरेको सेयर विश्लेषकहरुले बताएका छन् । उनीहरुले जापानको सेयर बजारमा इतिहासकै उच्च गिरावट आएको दिनलाई ‘ब्ल्याक मन्डे’का रुपमा व्याख्या गरेका छन् ।
जापानको सेयरमा उच्च गिरावट आउनुमा विश्व बजारका जानकारहरुले विभिन्न कारण औँल्याएका छन् । पहिलो, अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्य बढ्दा निर्यातमा निर्भर जापानी कम्पनीका सेयरमा आकर्षण घट्नु । दोस्रो, आर्टिफिसियल इन्टेलिजेन्सको हाइपबाट सशंकित लगानीकर्ता पलायन हुने क्रम बढ्नु र तेस्रो अमेरिकी अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव विश्व बजारमा पर्नु भएको जानकारहरुको भनाई छ ।
यतिसम्म जानकारहरुले जापानको सेयर बजारमा देखिएको उच्च गिरावटले जापानी सेयर बजार बियरिस ट्रेन्डको संकेत गरेको पनि बताएका छन् ।