काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाढी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बाढी पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको हो ।
निरन्तरको वर्षा, बाढी र पहिरोको कारण भएको जनधनको क्षतिको उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
बैंकले बाढी पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेपनि पीडितले उक्त रकम कहिले पाउने हुन् भन्ने कुरा अन्योलमै छ ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभर थुप्रै जनधनको क्षति भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले प्रतिकूल मौसमी परिस्थितिमा बैंकले सहयोग गरेको र विभिन्न जिल्लामा पनि राहतका लागि समन्वय गरिरहेको बताएका छन् ।