काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि हाकिमले काम गर्न लगाएको भन्दै हेल्लो सरकारमा उजुरी परेको छ । विभिन्न तीन बैंकका बैंकरले बिदाको दिन पनि काम गर्न लगाइएको भन्दै हेल्लो सरकारमा उजुरी दिएका हुन् ।
उनीहरुले सार्वजनिक बिदाको दिन पनि हाकिमले ‘अफिस आइहाल्नुभयो, काम गर्नुस्’ भनेर काममा लगाएको भन्दै हेल्लो सरकारमा उजुरी गरेका हुन् ।
बैंकरहरुले दिएको उजुरीपछि हेल्लो सरकारले नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने तयारी गरेको बुझिएको छ । सार्वजनिक बिदाको दिन पनि काममा लगाउनु सरकारको निर्णय अवज्ञा हुने भन्दै बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंकमा लेखी पठाउने तयारी गरिएको हो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तर, सरकारको निर्णय सार्वजनिक हुँदासम्म अधिकांश बैंकर र कर्मचारी अफिस पुगिसकेका थिए । अफिस पुगे पनि सरकारी बैंक र सरकारी कार्यालयका कर्मचारी घर फर्किएका थिए भने प्राइभेट बैंकमा ‘अफिस नै आइसकेपछि काम गरौँ’ भनेर हाकिमले अफिस पुगेका बैंकरलाई काम गर्न लगाएका थिए ।
तर, सार्वजनिक बिदाको दिन पनि काम गर्न लगाएको भन्दै बैंकरले हेल्लो सरकारमा उजुरी दिएका थिए ।