काठमाडौँ । हरेक डिसेम्बर २५ मा मनाइने क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।
क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोहले अँग्रेजी नयाँ वर्षको उपहार दिने भन्दै पनि ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसरी अँग्रेजी नयाँ वर्ष र क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोहले सुरुमा तपाईलाई ‘यो लिंकमा क्लिक गर्नुहोस् र क्रिसमसको उपहार जित्नुहोस्’, ‘यो लिंक सेयर गर्नुहोस् र विजेता बन्नुहोस्’ वा ‘तपाईंले क्रिसमसको अवसरमा उपहार जित्नुभएको छ, उपहार पाउन यहाँ क्लिक गर्नुहोस्’ जस्ता लिंक पठाउँछन् ।
यदी तपाईंले यस्ता लिंकमा क्लिक गर्नुभयो वा लिंक खोल्नुभयो भने ह्याकरले सोही लिंकमार्फत तपाईंको फोनमा भएका सबै डाटामा पहुँच पुर्याउँछ । अन्ततः तपाईंको बैंक खाता नै रित्तिन सक्छ ।
अर्कोतर्फ ह्याकरहरुले अहिले सामाजिक सञ्जालमा क्रिसमसको बम्पर अफर भन्दै एउटा लिंक भाइरल गरिरहेको छ । जुन लिंक तपाईंले जति धेरै सेयर गर्नुभयो त्यति नै धेरै उपहार जित्ने प्रलोभन देखाइरहेको छ । यसरी उक्त लिंक तपाईंले आफ्ना साथिभाई वा आफन्तलाई सेयर गर्नुभयो र झुक्किएर पनि ती लिंक तपाईं वा तपाईंको आफन्तको फोनमा खुल्यो भने त्यसले ठूलो आर्थिक क्षति निम्त्याउन सक्छ ।
त्यस्तै, अहिले एउटा गिरोहले नेपाल टेलिकमले ५ हजार रुपैयाँसम्मको नगद तथा उपहार दिने भन्दै कम्पनीको लागोसमेत दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइरहेको पाइएको छ । यस्ता सूचनामा कुनै सत्यता नभएको भन्दै नेपाल टेलिकमले सचेत रहन पनि सबैलाई आग्रह गरेको छ ।
पछिल्लो केही समययता सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई लक्षित गरेर अनलाइन ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले पनि सचेत रहन आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा आउने उपहार वा टूर प्याकेज सम्बन्धी सूचना आए भेरिफाई गर्न, उपहार सम्बन्धी लिंक आए जथाभावि क्लिक वा सेयर नगर्न र विभिन्न बाहनामा कोड माग्नेहरुसँग सचेत रहन आग्रह गरेको छ ।