काठमाडौँ । नबिल स्टक डिलरका उच्च तहका कर्मचारीहरु नै गैरकानुनी सेयर कारोबारमा संलग्न रहेको खुलासा भएको छ । प्रचलित कानुनी व्यवस्था अनुसार ब्रोकरका कर्मचारीले र कर्मचारीका एकाघरको परिवारभित्रका सदस्यका नाममा सोहि ब्रोकरबाट कारोबार गर्न नपाउने भए पनि नबिल स्टक डिलरका कर्मचारीले पनि गैरकानुनी रुपमा श्रीमतीकै नाममा सेयर कारोबार गरेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ को नियम २७ को उपनियम ४ एकाघरका परिवारका सदस्य तथा नातेदारले सोहि ब्रोकरबाट कारोबार गर्न नपाउने प्रष्ट व्यवस्था गरेको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाणअनुसार कम्पनीका सिनियर कर्मचारी मदन तिमिल्सीनाले श्रीमती सिमोनी सेढाईका नाममा यहि कानुनी व्यवस्थाविपरित गैरकानुनी सेयर कारोबार गरेका छन् । उनी कम्पनीका तर्फबाट धितोपत्र बोर्ड, नेप्से लगायतमा आधिकारिक प्रतिनिधि पनि हुन् । अर्थ सरोकारलाई प्राप्त अकाउण्ट स्टेटमेन्टमा २०८० साल माघ २१ गते, माघ २५ गते, माघ २९ गते, फागुन १३, फागुन १६ गते र फागुन २३ गते तिमिल्सीनाकी श्रीमती सेढाइका नाममा गैरकानुनी कारोबार देखिएको छ । उनको विवाह माघ १६, २०८० मा भए पनि उनले उनकी श्रीमतीको खातामा त्यसपछि पनि कारोबार भएको देखिएको छ ।
हेर्नुहोस् सिमोनी सेढाईका नाममा भएको कारोबार विवरण
तिमिल्सीनाविरुद्ध सालो सम्पूर्ण सेढाइको नामबाटसमेत कारोकार गरेको र काम गैरकानुनी रहेको भन्दै धितोपत्र बोर्डमा उजुरी परिसकेको छ । बोर्डले यस विषयमा छानविनसमेत सुरु गरिसकेको छ । उजुरीमा सेढाईका नाममा २०८१ साल बैसाख २१ गते कारोबार भएको उल्लेख छ । अर्थ सरोकारले प्राप्त गरेको उनको खाता विवरणमा पनि तिमिल्सीनाको सालो भईसकेपछि पनि उनको नाममा नबिल स्टकबाट कारोबार भएको देखिन्छ ।
हेर्नुहोस् तिमिल्सीनाका सालो सम्पूर्ण सेढाईका नाममा भएको कारोबार विवरण
यता तिमिल्सीनाले भने आफ्नो विवाह गर्नुभन्दा अगाडी श्रीमती र सालो सेढाइले आफ्नो ब्रोकरमार्फत कारोबार गरेको, तर फागुन १६ गते आफ्नो विवाह भएपछि कारोबार नगरेको दाबी गरेका छन् । ‘मेरो विवाह अगाडी उनको (श्रीमतीको) त्यहीं कारोबार थियो । अहिले विवाह भईसकेपछि त्यहाँबाट कारोबार छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘विवाह भईसकेपछि हाम्रो ब्रोकरबाट श्रीमतीका नाममा कुनै पनि कारोबार छैन ।’ यद्यपी उनले आफ्नो विवाह फागुन १७ गते भएको भने पनि अर्थ सरोकारले उनको विवाह माघ १६ गते भएको प्रमाण फेला पारेको छ ।
तपाईंको विवाहपछि पनि सेयर कारोबार गरिएको छ त ? हाम्रो प्रश्नमा उनले ‘त्यो हेर्दा मिलिहाल्छ नि, त्यस्तो छैन’ भन्ने जवाफ दिएका थिए । तपाईंको विवाह कहिले भएको थियो ? हाम्रो प्रश्नमा उनले ‘फागुन १७’ गते भनी जवाफ दिएका थिए। उनले आफ्नो विवाह फागुन १७ गते भएको भन्ने झुटो दाबी गरे पनि उनले आफ्नै फेसबुकमा फागुन ११ गते आफ्नी श्रीमतीको तस्विर बेहुलाबेहुलीकै भेषमा राखेका छन् । यसले ढाँटेको कुरा काटेको कहाँ मिल्छ र भन्ने उखानसमेत चरितार्थ गरेको छ ।
हेर्नुहोस् उनको विवाह माघ १६ का लागि पठाइएको निम्तो कार्ड :
यता नबिल बैंकले पनि आफ्नो सब्सीडरी कम्पनीमा भएको गैरकानुनी कारोबारको विषयमा छानविन गरी दोषीलाई कारवाही गर्ने स्पष्ट पारिसकेको छ । आइतबार अर्थ सरोकारमा नबिल स्टक डिलरमा हुने गरेको गैरकानुनी कारोबारका विषयमा समाचार प्रकाशन भएपछि सम्पर्कमा आएका नबिल बैंकका उच्च अधिकारीले दोषी जो भए पनि कारवाहीको भागिदार हुने प्रष्ट पारिसकेका छन् ।
यसरी गैरकानुनी काम गर्ने मदन तिमिल्सीना चार्टर्ड एकाउन्टेण्टसमेत हुन् । उनी यसअघि विभिन्न बैंकहरुमा कार्यरत थिए ।