Skip to content
LAXMI SUNRISE BANK

केआईआईटी विश्वविद्यालयमा मान्छे बेच्नेहरुको कथा (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौँ । यतिकै भनिएको होइन सायद – सतिले सरापेको देश । देशको थिति हेर्दा लाग्छ, एक सतिले मात्र सरापिनन् सायद यो देशलाई । र त, उज्यालो नेपाल बनाउने कुलमानलाई हटाउन मन्त्रीलाई हतारो छ, मन्त्रीविरुद्ध बोल्नेको जागिर नै खोसिएको छ, बेलुनमा हाइड्रोजन ग्याँस हाल्न लगाउनेलाई होइन, हाइड्रोजन हाल्नेलाई जेल कोचिन्छ । यस्तो लाग्छ, पुल उद्घाटनका क्रममा नरिवल फुटाउदै गर्दा नरिवल फुट्नुको सट्टा पुल नै भत्कियो भने नरिवल बेच्नेलाई कारवाही हुने देश हो यो । थितिको जन्जाल भ्रष्ट छ, सामाजिक संजाल गाली गर्नमै व्यस्त छ । अनि समस्याको जड खोज्नुभन्दा आवेगमा बहकिन्छ समाज ।

अहिले प्रकृति लम्सालको घटना चर्चामा छ । यसमा कुनै इफ र बट हुनु हुँदैन कि प्रकृतिले न्याय पाउनैपर्छ । पर्दापछाडी अरु पनि प्रकृति होलान्, उनीहरुले पनि न्याय पाउनुपर्छ । अन्यायमा परेका जो कोहिले पनि न्याय पाउनुपर्छ । तर न्याय पाउनु भनेको प्रकृतिलाई मर्न बाध्य बनाउने त्यो प्रेमी नामको कुलंगारलाई कारवाही गर्नु मात्र होइन, उनले न्याय पाउने भनेको होस्टेल छोड्न बाध्य बनाइएकाहरुलाई युनिभर्सीटी फर्काउन सहज बनाउनुमात्र होइन, प्रकृतिले मृत्युपछाडीका कारणहरु खोजेर अव यो देशका कोहि चेलीकोहालत पनि प्रकृतिको जस्तो नहोस् भन्ने कुरामा सरकारको एक्सन पनि हो । र त खोजिनुपर्छ, प्रकृतिलाई मर्न बाध्य बनाउने पर्दा पछाडीका पात्रहरुलाई पनि । र यो पात्रमा उनीहरु पनि छन्, जो पैसाका लागि हाम्रा चेलीहरुको सपना बेचेर, करोडपति भईरहेका छन् यो शहरमा । लिनुपर्ने नो अब्जेक्सन लेटर नलिई कालिंगाजस्ता विश्वविद्यालयमा कमिसन खाएर मान्छे पठाउनेहरु जो जो छन्, उनीहरुलाई पनि नियमनको दायरामा ल्याईनुपर्छ । र आजको स्ट्रेट फरवार्ड प्रकृति लम्साल प्रकरणको यहि फरक कोणमा केन्द्रित छ ।

कलिंगा इस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी अर्थात केआईआईटी विश्वविद्यालय । अहिले यो विश्वविद्यालयको नाम नसुन्ने नेपाली र भारतीय सायदै छन् होला । बदनामीको अर्को कुनै नाम छ भने, त्यो यही केआईआईटी विश्वविद्यालय हो भन्ने भाष्य बनेको छ । प्रकृति किन मर्न बाध्य भईन्, यो विषय अनुसन्धानले देखाउला नै, तर के प्रकृति लम्साल यस्तो घटनामा पर्ने पहिलो चेली हुन् ? अहँ होइनन् । अन्तिम हुन् त ? अहँ यहि स्थितिमा यो पनि सम्भव छैन । अनि के यस्तै भईरहने हो त ? त्यो त झन् हुँदै हुन्न । अनि के त ? हो यहि प्रश्नको जवाफ खोज्न हामी प्रकृतिजस्तै भारत पढ्न पठाउनेहरुसम्म पुग्नुपर्छ ।

प्रकृतिको घटना बाहिरिएपछि हामीले जोड जोडसँग विश्वविद्यालयलाई गाली गर्यौँ । गर्नुपर्ने ठाउँ पनि थियो । सँगै गाली गर्यौं भारतीयहरुलाई, जवकि प्रकृतिलाई मार्न खोज्ने, नेपालबारे गलत बोल्ने र यो घटनालाई दबाउन खोज्ने केहि भारतीयमात्र गलत थिए । प्रकृतिको न्यायका लागि आवाज उठाउने भारतीय विद्यार्थीहरुको संख्या ठुलो थियो, भारतीय प्रशासनले पनि यो घटनालाई सिरियसली लिएको थियो र छ, अनुसन्धान हुँदैछ, भारतको सांसले पनि यस विषयमा चासो राखेका छन्, नेपाल स्थिति भारतीय दुतावास र भारतस्थित नेपाली दुतावासले पनि यो घटनालाई सिरियसली लिएका छन् । तर के तपाईंलाई लाग्दैन, प्रकृतिलाई मर्न बाध्य पार्नेहरुमा यो देशको सिष्टम पनि दोषी छ । नेपालमै राम्रो आइटी पढाउने कलेज हुँदाहुँदै किन जान्छन् विद्यार्थीहरु कालिङ्गा ? कसले पठाउँछ ? किन पठाउँछ ? अव यो विषय खोजिनुपर्छ ।

भारतको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयले नेपालको कुनै पनि कन्सल्टेन्सीलाई रेक्रुटमेन्ट पार्टनर बनाएको नभए पनि काठमाडौँमा विद्यार्थी त्यहाँ पठाउने कमिसन भोगी सेन्टरहरु छन् । आवरणमा कन्सलटेन्सी भए पनि त्यस्ता संस्थाहरुले खुलेआम देशको कानुन मिचेर कमिसनसँग नेपालीको सपना साट्छन् । कालिंगाले प्रति विद्यार्थी त्यस्ता सो कल्ड कन्सलटेन्सीहरुलाई चर्को कमिसन दिन्छ, अनि विद्यार्थी लिन्छ । यताका कन्सलटेन्सी नामका मान्छे बेचुवाहरु देशको कानुन मान्दैनन्, नो अब्जेक्सन लेटर लिनु पर्दैन भन्ने काउन्सिलिङ्ग गर्छन् र विद्यार्थी पठाउँछन् । नेपालबाट कुनै पनि कन्सल्टेन्सीमार्फत केआईआईटीमा भर्ना हुन मिल्दैन । तर, काठमाडौँको पुतलीसडकमा अफिस नै खोलेर केहि कन्सल्टेन्सी नामका दलालहरुले सन् २०१७ देखि नै नेपाली विद्यार्थीलाई केआईआईटीमा पठाउँदै आएका छन् । इन्जिनियरिङ पढ्न केआईआईटी पुगेका धेरैजसो नेपाली विद्यार्थी हरुले मुठीभरका यीनै कन्सल्टेन्सीलाई माध्यम बनाएर केआईआईटीको यात्रा तय गर्छन् । सस्तोमा राम्रो पढाई भन्दै केआईआईटीको मार्केटिङसमेत गर्छन् यस्ता सो कल्ड कन्सलटेन्सीहरुले । तर एक पटक कमिसन बुझेपछि अहँ उनीहरुलाई त्यहाँ नेपाली बाँचुन् कि मरुन् मतलव छैन । उनीहरुलाई मतलव छ त, उनीहरुकै भाषामा नयाँ मुर्गाहरुको जसका अगाडी देशलाई १० मिनेट सरापेपछी उनीहरु कन्भिन्स हुन्छन्, र कमिसन पाक्छ ।

नेपाली विद्यार्थी केआईआईटी पुग्नुमा नेपालकै निजी क्याम्पसहरु पनि उतिकै जिम्मेवार छन् । आफ्नो शिक्षाको गुणस्तर सुधार्नुपर्छ भन्ने एक रत्ति पनि दिमाग नभएका त्यस्ता कलेजहरुले कक्षा १२ को वार्षिक परीक्षाभन्दा ५–६ महिना अगाडि नै विद्यार्थीलाई भ्रमण भन्दै केआईआईटी लैजान्छन् । विद्यार्थीबाट भ्रमण भन्दै पैसा उठायो, केआईआईटीको सित्तैमा प्रचार गर्यो, पछि विद्यार्थीलाई सिफारिस गरेरै पठायो, यता टाउका गनेर मोटो कमिसन लियो । अझ परीक्षा सकिनेबित्तिकै क्यापसका सरहरु ढोकामा केआईआईटीको पर्चा लिएर विज्ञापन गर्न बस्छन् र आफूमार्फत केआईआईटी गए छुट गराइदिने भन्दै बार्गेनिङ गर्न थाल्छन् । वर्षौंदेखि यही चल्दै आएको छ नेपालका निजी क्याम्पस र केआईआईटीमा ।

विशेषगरी जनकपुर, विरगञ्ज र विराटनगरमा त यो धन्दा झन् बढी छ । अनुमतिसमेत नलिएका कन्सल्टेन्सी र कलेजहरुले नेपाली विद्यार्थीलाई सिधै केआईआईटी पठाउने गर्छन् । जसमार्फत उनीहरुले प्रतिविद्यार्थी ५० हजार रुपैयाँ कमिसन पाउँछन् । कन्सल्टेन्सी र कलेज मात्र होइन, साथिभाई र आफन्तमार्फत पनि थुपै्र नेपाली विद्यार्थी पढ्नका लागि केआईआईटीमा पुगेका छन् । उनीहरुलाई पनि टाउका गनेरै केआईआईटीले कमिसन दिँदै आएको छ । अब आफैँ भन्नुस्, टउको गनेर कमिसन दिएर ल्याएका विद्यार्थीलाई केआईआईटीले किन टेर्थ्यो ? आफैँले किनेर ल्याएका विद्यार्थीलाई केआईआईटीले के विद्यार्थी ठान्थ्यो ? आफ्नै चेलीहरुका भविष्य केहि हजारमा साट्न तयार भएका आफ्ना भनौदाहरु नै गद्दार भएपछि अरुलाई मात्र के दोष दिनु ?

अब प्रकृति लम्साल प्रकरणमा दोषीमाथि मात्र होइन, कमिसनको लोभमा नेपाली विद्यार्थीलाई जबरजस्ती केआईआईटी पुर्याउनेहरुमाथि छानबिन हुनुपर्छ । सस्तो भन्दै केआईआईटी पुगेका सयौँ नेपाली अहिले स्वदेश फर्किएका छन् । न उनीहरुमा केआईआईटी फर्कने आँट छ, न विकल्प । उनीहरुलाई भारत पढ्न पठाउन कसले कति कमिसन खायो ? कमिसन खानेहरुले सरकारलाई कति कर तिरे ? प्रकृतिको लड़फा पर्दा ती कुन दुलो भित्र पसे ? के यस प्रकरणमा उनीहरुको दायित्व छैन ? वा थिएन ? वा हुनु पर्दैन थियो ? पर्छ भने उनीहरु कहाँ छन् ? यो विषयमा पनि छानविन हुनुपर्छ । अनि प्लस टु पढ्ने विद्यार्थीहरुबाट फी मात्र होइन, ड्रेसमा कमिसन, किताबमा कमिसन, भिजिटका नाममा कमिसन, अनेक नाममा कमिसन खाने पनि नअघाए पछि देशलाई सरापेर मान्छे नै भारतीय विश्वविद्यालयलाई बेच्ने कलेज र तिनका टाउकेहरुउपर सरकारले छानविन गर्नुपर्छ ।

सरकारको काम फगत कुटनीति, कुटनीति अनि कुटनीति भनेर सुगा रटाई गर्ने र कुलमानलाई हटाउन जसरी पनि बाँदर बठ्याई गर्नेमात्र होइन । फेरी कोहिको हालत प्रकृतिको जस्तो नहोस् भन्नका खातिर एक्सनमा उत्रने पनि हो । वी, वान्ट जस्टिस, जस्टिस फर प्रकृतिलम्साल । जय नेपाल ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK