काठमाडौँ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंक अहिले गभर्नरबिहीन छ । गभर्नरको अनुपस्थितिमा सरकारले राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ ।
हाल सरकार राष्ट्र बैंकको गभर्नर नियुक्तिको नजिक पुगेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
मन्त्री गुरुङका अनुसार बुधबार बसेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि गभर्नर नियुक्तिको विषयमा छलफल भएको थियो । सो बैठकमा गभर्नर नियुक्तिको विषयमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सहमति नजिक पुगेको मन्त्री गुरुङले बताएका छन् ।
यद्यपि कसलाई गभर्नर नियुक्ति गर्ने ? भन्ने विषय टुंगो लागेको छैन । स्रोतका अनुसार गभर्नरमा देउवाले भनेका व्यक्ति आउने सम्भावना प्रबल छ । देउवाका खास उम्मेदवार राजेन्द्रकिशोर क्षेत्री हुन् । तर, सर्वोच्च अदालतले ६५ वर्षको उमेरहद हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनी गभर्नरको ‘रेस’बाटै आउट भएका छन् ।
यही कारण काँग्रेस निकट गुणाकर भट्ट र ज्ञानेन्द्र ढुंगानामध्ये एकजना गभर्नर बन्ने सम्भावना प्रबल देखिएको छ । तर, प्रधानमन्त्री ओलीले पनि आफ्नो कार्यकालमा राष्ट्र बैंकमा महिला गभर्नर बनाउने इच्छा व्यक्त गरेका छन् । देउवा र ओलीबीचको सहमति त्यसतर्फ ढल्किए राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना राष्ट्र बैंकको गभर्नर बन्ने पनि सम्भावना रहेको स्रोतले बताएको छ ।
के हो एक अर्बको बार्गेनिङको खेल ?
यसो त सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया सुरु गरेलगत्तै गभर्नर पदका लागि बिचौलिया हावी भएको चर्चा सुरु भएको थियो । यतिसम्म कि आफ्नो ‘फेबर’को गभर्नर नियुक्ति गर्नका लागि निर्माण व्यवसायी, उद्योगी, बैंकरहरुसँग रकम संकलन गरिएको चर्चा समेत बजारमा चलेको थियो । अहिले पनि गभर्नर नियुक्तिमा बिचौलिया हावी भएको स्वयम् सरकारमा सहभागी दलका नेताहरुले बताउँदै आएका छन् ।
तर, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गुरुङले भने उक्त चर्चामा कुनै सत्यता नभएको बताएका छन् । बरु बिचौलिया को हुन् ? भन्ने पत्ता लागे गृहमन्त्रीलाई कारवाही गर्न निर्देशन दिनेसमेत बताएका छन् ।