काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सेयर बजारमैत्री आएको बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे प्रतिक्रिया दिँदै पन्तले यस्तो बताएका हुन् ।
उनले मौद्रिक नीतिको समीक्षामार्फत भएको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय बजारका लागि पोजेटिभ भएको बताएका छन् ।
‘मौद्रिक नीतिको समीक्षामा जे आयो पोजेटिभ आयो । सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय बजारका लागि साह्रै पोजेटिभ छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले भने, ‘अब यसले बैंकहरुको कर्जा प्रवाह गर्ने क्षमता र प्रफिट दुवै बढाउँछ । सेयर कर्जा लिन पनि सहज हुन्छ । समग्रमा यो निर्णय बजारका लागि धेरै राम्रो हो ।’
त्यस्तै, पन्तले नीतिमा देखिएको परिवर्तन र बजारको माहोलले अब सेयर बजारको यात्रा माथि नै जाने संकेत गर्ने बताएका छन् ।
राष्ट्र बैंकले आइतबार साँझ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा हाल रहेको १२५ को जोखिम भारलाई घटाएर १०० बनाउने निर्णय गरेको थियो ।
यसअघि राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थिए ।