काठमाडौँ । सेयरको भाउ बढाउन नसकेको भन्दै भारतमा एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले पदबाटै राजिनामा दिएका छन् । भारतको कर्नाटका बैंकका सिइओ श्रीकृष्णन हरिहर शर्माले सिइओ पदबाट राजिनामा दिएका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सन् २०२३ मे मा सिइओ नियुक्त भएका शर्माको कार्यकाल सकिन अझै तीन वर्ष बाँकी थियो । तर, उनले अचानक बैंकको सिइओ पदबाट राजिनामा दिएका छन् ।
शर्माले आफू बैंकको सिइओ नियुक्त भएपछि बैंकको सेयर मूल्य बढाउन नसकेको भन्दै सो को नैतिक जिम्मेवारी लिएर पदबाट राजिनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार शर्मासँगै बैंकका कार्यकारी निर्देशक शेखर रावले पनि राजिनामा दिएका छन् ।
उनीहरु दुवैको राजिनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । सिइओ नियुक्त हुँदा शर्माले बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ८० रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएका थिए । तर, पछिल्लो दुई वर्षमा बैंकको सेयर मूल्य नबढेपछि उनले राजिनामा दिएको बताइएको छ । यो कुरा स्वयम् शर्माले समेत स्वीकारेका छन् । तर, कतिपयले भने राजिनामाको कारण सेयर मूल्य नभएर अरु केही भएको हुनसक्ने आंकलन गरेका छन् ।