काठमाडौँ । प्रभु बैंकको अध्यक्षमा किशोर जंग कार्की चयन भएका छन् । कार्कीलाई बिहीबार बसेको सञ्चालक समितिको ३८०औँ बैठकले अध्यक्ष चयन गरेको हो ।
बैंकको अध्यक्ष चयन भएका कार्की ओखलढुंगामा जन्मिएका हुन् । जन प्रशासनमा स्नातकोत्तर गरेका कार्की नेपाल सरकारको सहसचिवबाट अवकाश प्राप्त पूर्व कर्मचारी समेत हुन् । उनले यसअघि सहसचिवका रुपमा आन्तरिक राजश्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय लगायतका ठाउँमा काम गरिसकेका छन् ।
त्यस्तै, बैंकको सञ्चालक समितिको उक्त बैठकले स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरेको छ । उनी तत्कालीन एनसीसी बैंक र कुमारी बैंकका सिइओ समेत थिए । उनलाई बिहीबार नै स्वतन्त्र विज्ञ सञ्चालकका रुपमा नियुक्त गरिएको छ ।
कार्की अध्यक्ष रहेको बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट अंगिर मान सिंह, बिर्ख बहादुर बस्नेत र अम्बिका शर्मा छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सुरज कुमार श्रेष्ठ र राजु पौडेल सञ्चालक छन् ।