×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive : महालक्ष्मी बिकास बैंकमा कर्मचारीले करोडौं रुपैयाँ घोटाला गरेर १ एक्स बेटमा लगाएको खुलासा ! हारेपछि खुल्यो पोल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

Exclusive : महालक्ष्मी बिकास बैंकमा कर्मचारीले करोडौं रुपैयाँ घोटाला गरेर १ एक्स बेटमा लगाएको खुलासा ! हारेपछि खुल्यो पोल !

Artha Sarokar

२४ श्रावण २०८२, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी बिकास बैंकमा कर्मचारीको मिलेमतोमा जनताको निक्षेपको चरम दुरुपयोग भएको पाइएको छ । बैंकको दार्चुलास्थित शाखाको करिव २ करोड ८५ लाख रुपैयाँ अपचलन भएको पाइएको हो ।
बैंकले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा त्यहींका कर्मचारीले रकम अपचलन गरेको खुलेको छ । रकम अपचलनको पोल खुलेपछि अहिले बैंकको इन्टरनल अडिटसहितको टोली दार्चुला पुगेको छ । हाल सो शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरिएको बैंकका कर्मचारीले पुष्टी गरेका छन् ।
ती कर्मचारीका अनुसार सो शाखामा भल्टको रकम ‘सर्ट’ भएपछि बैंकले नयाँ भल्ट दिएर कारोबार गर्न लगाएको छ । २ करोड ८५ लाख रुपैयाँ हराएको भल्टमा ५ लाख रुपैयाँ मात्र बाँकी छ । सो भल्टलाई अहिले नचलाउने र अनुसन्धान अगाडी बढाउने काम भएको छ । बैंकको आन्तरिक टोलीले त्यहाँको मुचुल्का उठाएर हेड अफिसमा रिपोर्टिङ गरिरहेको छ । शुक्रबार विहानदेखि कार्यालयको सीसीटिभी चेक गर्ने, भल्ट चेक गर्ने, कर्मचारीहरुलाई सोधपुछ गर्ने काम भईरहेको छ । तर जुवा जोडिएको विषय भए पनि प्रहरीलाई भने सम्पर्क गरिएको छैन । ‘पैसा पहिला उठाउने प्रयास गरौँ, त्यसपछि प्रहरीलाई खबर गरौँला भन्ने तयारी छ ।’ बैंकका ती कर्मचारीले भने ।
१ एक्स बेट खेलेरै सकियो धेरै पैसा !
बैंकका कर्मचारीका अनुसार बैंकको दुरुपयोग गरिएको पैसामध्ये धेरै रकम १ एक्स बेटमा लगाइएको छ । १ एक्स बेटमा लगाइएको रकममध्ये धेरै पैसा हारिसकेका कारण पनि अव कर्मचारीसँग पैसा बाँकी छैन ।
‘सिष्टममा पैसाको रेकर्ड छ, तर पैसा दुरुपयोग भएको छ । यस विषयमा जानकारी पाएपछि हामीले थप अनुसन्धान गर्यौँ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘अनुसन्धानका क्रममा बैंकको रकम दुरुपयोग भएको पाइएपछि अहिले सबै कर्मचारीलाई निलम्बन गरेर हेड अफिसबाट अन्य कर्मचारीहरु पठाइएको छ ।’ ती अधिकारीका अनुसार त्यहाँका कर्मचारीहरु अलि अघि देखि नै १ एक्स बेट जुवा खेल्ने गरेको पाइएको छ । यसपटक हिसाब बिग्रिएपछि पोल खुलेको हो । अव सबै कुरा अनुसन्धान सकिएपछि नै थाहा होला ।’
घटना बाहिर आउने डरले प्रहरीलाई जानकारी नै दिईएन, प्रहरी भन्छ -‘थाहा पायौँ, तर उजुरी परेको छैन’
यद्यपी घटना बाहिर आउने डरले प्रहरीलाई भने बैंकले जानकारी गराएको छैन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले आफुले पनि घटनाबारे सुनेको, तर बैंकले खबर नगरेको बताएका छन् । ‘हामीले पनि बाहिर बाट नै घटनाबारे सुन्यौँ । घटनाबारे सुनेपछि हामी बैंकको अनुसन्धानलाई सहयोग गर्न स्ट्याण्ड बाईसमेत छौँ । तर उहाँहरुले उजुरी गर्नुभएको छैन । उजुरी गरेको खण्डमा हामी अनुसन्धान गर्न तयार छौँ ।’ दाहालले भने ।
उनका अनुसार बैंकमा घोटाला भएको र सो घोटालाका विषयमा थप अनुसन्धान गर्न बैंकको हेड अफिसको टोली दार्चुला आएको विवरण भने प्रहरीसँग छ । ‘हामी हाम्रो हिसाबले घटनाबारे बुझिरहेका छौँ । तर हामीले अनुसन्धान गर्न बैंकले जाहेरी वा निवेदन दिनुपर्छ, जुन दिईएको छैन ।’ दाहालले अर्थ सरोकारसँग भने । यद्यपी घटना जुवा खेलाईसँग जोडिएको बारे भने जानकारी नभएको उनको भनाई छ।
के भन्छ बैंक ?
घटनापछि बैंकका तत्कालीन शाखा प्रबन्धक सागर साही मोबाइल अफ गरेर बसेका छन् । बैंकका गुनासो सुनुवाई अधिकृत बसन्त बस्कीले आफु बिदामा भएकाले घटनाबारे विस्तृत विवरण थाहा नभएको भन्दै सूचना अधिकारी अनुज आचार्यलाई फोन गर्न आग्रह गरे । तर, अरु बेला फोन उठाईहाल्ने आचार्यले शुक्रबार भने फोन उठाएनन् । विषय नै तोकेर मेसेज गर्दा पनि उनले रिप्लाई गरेका छैनन् । यस विषयमा जानकारी लिन खोज्दा बैंकका सीइओ दिपेश लम्सालले पनि फोन काटे । घटनाको पुष्टी गरेका बैंकका एक उच्च अधिकारी भने यस विषयमा बैंकका सीइओले बाहिर नबोल्न, र सुरुमा पैसा उठाउन निर्देशन दिएको बताउँछन् । ‘मुख्य कुरा पैसा उठाउनुपर्यो । सकेसम्म बाहिर केस नल्याई पैसा उठाउन सीइओको निर्देशन छ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘प्रहरीको सहयोगचाहिं लिनुपर्थ्यो ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी