काठमाडौँ । सादगी जिन्दगी, मेहेनतको कमाईले इमानसँग बाँचेको मान्छे । निडर, र हक्की । काममा पक्का, नो दायाँबायाँ । जेनजीले खोजेको एउटा नेतृत्व, एउटी अभिभावक, आमाझैं बनेर देशलाई माया गर्ने मान्छे । हो, अहिले देशले त्यस्तै प्रधानमन्त्री पाएको छ । उनको स्वभाव जति सिधा छ, त्यस्तै सरल उनको दैनिकी छ, उनको व्यवहार छ ।
उनका श्रीमानका अनुसार उनी कहिल्यै पनि ब्युटी पार्लर गएको थाहा छैन । मेकअपमा फिटिक्कै रुची छैन । विवाहपछि गाजल, लगाएको याद छैन उनकै श्रीमानलाई पनि । यतिसम्मकि कपाल धेरै ठाउँमा उडेकै हुन्छ उनको । बाहिरी शृंगारमा रुची छैन ।
सुशिलाले आजसम्म रक्सी चाखेकी छैनन् । श्रीमान् रक्सी खान्थे, कि मलाई छोड कि रक्सी छोड भनेर गाली गरेपछि श्रीमानले पनि छोडिदिए । चुरोट, खैनी त छोएकी पनि छैनन् सुशिलाले ।
श्रीमती देशको प्रधानन्यायाधीश हुँदा पनि श्रीमान् दुर्गाले घर सम्हालेर बसे । अहिले श्रीमती प्रधानमन्त्री हुँदा पनि स्थिति त्यस्तै त्यस्तै छ । कतिले त श्रीमतीको चाकरी गरेर बसेको छ, श्रीमतीले थुनेर राखेको छ’ भनेर जिस्क्याउछन् पनि । तर सुशिलाका श्रीमानलाई यो सब सामान्य लाग्छ ।
सुशीला र श्रीमानको आजसम्म उपहार लेनदेन नै भएको छैन। फुरमासमा उनीहरुको रुची फिटिक्कै छैन । नसोधी बढी खर्च गर्दा उल्टै रिसाउँछिन् सुशिला । जन्मदिन, भ्यालेनटाइन डे, एनिभर्सरी केहि मनाएको याद छैन । आजकलचाहिं छोराले याद दिलाईदिन्छ ।
खाजा वा खाना खान रेष्टुरेन्ट गएर पैसा खर्च गर्ने बानी नै छैन सुशिलाको । बानी नै छैन ।
बिहान पाँच बजे नै उठ्छिन, पूजा गर्छिन् । कामको चाप हुँदा त ४ बजे नै उठेर पनि काम गर्छिन सुशिला । मोटोपनले गर्दा बेलुकी भात खान छोडेको धेरै भयो । विहान मर्निङ्ग वाक पनि गर्छिन्, तर सोचेजस्तो ज्यान घटेको छैन ।
भनसुनका अफरहरु कहिले काहीं आउँथे । सुशिलालाई सिधै भन्न आँट नगरे पनि श्रीमान् दुर्गालाई यसो गरिदिनुपर्यो भनेर कहिलेकाहीं फोन आउँथे । तर श्रीमान् दुर्गालाई श्रीमती सुशिलाको हक्की बानी थाहा छ । ‘मलाई श्रीमतीले नै इमानदारीताको कमाइ खुवाईरहनुभएको छ, मलाई भ्रष्ट नबनाउनुहोस्’ भनेर श्रीमानले पठाईदिन्थे । सुशिला घुस नखाने, दायाँबायाँ नगर्ने, गलत नगर्ने भएकै कारण उनलाई भ्रष्ट नेताहरुको उक्साहटमा एकपटक महाअभियोग लगाउने तयारीसमेत गरिएको थियो ।