काठमाडौँ । दशैँ नसकिँदै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएर कारागारबाट भागेका अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ३४ वर्षीय सन्देश शर्मालाई पक्राउ गरेको हो ।
दाङ घर भएका शर्मालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अन्य कैदीसँगै भागेका थिए । प्रहरीले भागेका कैदीहरुलाई स्वस्फूर्त कारागार फर्किन आग्रह गर्दै आएको थियो । तर, उनी फर्किएका थिएनन् ।
कैदीहरु कारागार नफर्किएपछि प्रहरीले फरार कैदीको खोजी सुरु गरेको थियो । सोही क्रममा शर्मालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा कारागार चलान भएर २४ गते नै भागेका टोप बहादुर रायमाझी भने कारागार फर्किसकेका छन् ।