काठमाडौँ । आइतबार सेयर लगानीकर्ताको एउटा समूह नेपाल धितोपत्र बोर्ड पुग्यो । सेयर बजार सुधार गर्नुपर्ने विभिन्न माग राख्दै सेयर लगानीकर्ताहरु दिउँसो ३ः४५ बजे धितोपत्र बोर्ड पुगेका थिए ।
सुरुमा लगानीकर्तालाई बोर्ड परिसरभित्र प्रवेश गर्नै नदिए पनि पछि वार्ताका लागि समिति बनाउने भन्दै उर्दी जारी भयो । त्यसबेलासम्म बोर्ड परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भइसकेका थिए ।
बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वार्तामा आउन ७ जनाको टोली बनाउनु भनेपछि सोही अनुसार टोली बनाइयो र वार्ता सुरु भयो । वार्तामा सेयर लगानीकर्ता र बोर्ड अध्यक्ष श्रेष्ठबीच चर्काचर्की नै भयो । वार्तामा लगानीकर्ताले आफ्ना ११ बुँदे मागहरु राखे र ती मागहरु तत्काल सम्बोधन गर्न आग्रह गरे । बोर्ड अध्यक्षले पनि कार्यान्वयन गर्न सक्ने माग कार्यान्वयन गर्छौं भन्ने आश्वासन दिए, वार्ता सकियो ।
तर, बोर्ड अध्यक्षले आश्वासन दिए पनि लगानीकर्ताहरुले भने मागहरु पूरा नहुन्जेल घर नफर्किने अडान लिए । वार्ता सकिए पनि उनीहरु बोर्ड परिसरमै बसिरहे ।
तर, राती पर्नै लाग्दा पनि बोर्डले लगानीकर्ताको माग सम्बोधन नगर्ने छाँट देखेपछि लगानीकर्ताहरुले धितोपत्र बोर्डको गेटमा ताला लगाइदिए । लगानीकर्ताको एउटा समूह गेट बाहिर थियो भने अर्को समूह बोर्ड परिसर भित्रै थियो ।
केहीबेरमा धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बाहिर निस्किए र बोर्डले पूरा गर्न सक्ने माग पूरा गर्ने र मन्त्रालय वा राष्ट्र बैंकमार्फत सम्बोधन हुने माग पूरा गर्न पहल गर्ने भनाई राखे । तर, आफूहरुका माग पूरा नहुन्जेल घर नफर्किने अडान लिएका सेयर लगानीकर्ताले बोर्ड अध्यक्षलाई आश्वासनले माग नहुने भन्दै लिखित रुपमा निर्णय नै गर्न दबाब दिए ।
लगानीकर्ताको दबाब झेल्न नसकेपछि बोर्ड अध्यक्ष श्रेष्ठ पुनः भित्र पसे र पदाधिकारीसँग पुनः छलफल सुरु गरे ।
यता सेयर लगानीकर्ताहरुले भने बोर्डको मूल गेट अगाडि नै धर्ना दिन सुरु गरे ।
बोर्ड अध्यक्ष, बोर्डका अन्य पदाधिकारी र केही सेयर लगानीकर्ताबीच बन्द कोठाभित्र करिब ३ घण्टा छलफल चल्यो । छलफल सहमतिनजिक पुग्न नसकेपछि बोर्ड लगानीकर्तामाथि बल प्रयोग गर्ने मनस्थितिमा पुगेको देखिन्थ्यो । डिएसपीको कमाण्डमा नेपाल प्रहरीको टोली परिचालन गरियो र प्रहरीले ताला फुटाउने प्रयास गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
लामो समयको छलफल र अवस्था झन् बिग्रने स्थिति देखेपछि बोर्डले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धतासहितको वक्तव्य जारी गर्यो । तर, वक्तव्य बोर्डको लेटरहेडमा नभएर साधा पेपरमा गरिएको र बोर्डका कुनै पदाधिकारीले पनि हस्ताक्षर नगरेको भन्दै लगानीकर्ताले सो वक्तव्य अस्वीकार गर्दै च्यातिदिएका थिए ।
बोर्डले केटाकेटीलाई भाँडाकुटी खेलेजसरी वक्तव्य जारी गरेको र लगानीकर्ताका मागप्रति बोर्ड र बोर्ड अध्यक्ष गम्भीर नभएको भन्दै बोर्ड अध्यक्षको राजीनामा मागेर नाराबाजी समेत गरे ।
अन्ततः प्रहरीको सुरक्षामा बोर्ड अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीलाई बाहिर निकालियो र प्रहरीकै भ्यानमा हालेर घर पठाइएको थियो ।
यता सेयर लगानीकर्ताहरुले भने बोर्ड अध्यक्ष जिम्मेवारीबाट भागेको भन्दै तिहारसम्म समय दिने र तिहारसम्म पनि लगानीकर्ताको माग सम्बोधन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।