काठमाडौँ । काँग्रेस सभापति शेर बहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भए पनि आफूले समग्रमा एक कार्यकाल पनि चलाउन नपाएको बताएका छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले यस्तो बताएका हुन् ।
उनले आफूलाई धेरै पटक प्रधानमन्त्री भएको व्यक्ति भन्दै आरोप लागे पनि आफूले समग्रमा एक कार्यकाल पनि चलाउन नपाएको बताएका छन् ।
त्यस्तै, देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको बताएका छन् । उनले पार्टीको १५औँ महाधिवेशन तोकेको अवधिमै हुने पनि बताएका छन् ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देउवा दम्पत्तिमाथि आक्रमण भएको थियो । लामो समय उपचाररत देउवा दम्पत्ति डिस्चार्ज भएपछि पनि सार्वजनिक भएका थिएनन् ।