काठमाडौँ । कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासी गरेर ७३ लाख रुपैयाँ अनियमितता गरिएको पाइएको छ । कैलालीको जानकी गाउँपालिकामा वडाध्यक्षकै मिलेमतोमा मृत्यु भइसकेको व्यक्तिको नाममा भत्ता निकासी गरेको पाइएको हो ।
यसरी मृत्यु भएका व्यक्तिको नाममा भत्ता निकासी गरेर अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दामा अख्तियारले जानकी गाउँपालिका-९ का अध्यक्ष खकेन्द्र भण्डारी, वडा सचिव प्रम बहादुर बुढा र कार्यालय सहयोगी सोनम कठरियालाई प्रतिवादी बनाइएको छ । त्यस्तै, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर बिष्टलाई पनि भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको छ ।
उनीहरुले ६ सय ८३ जना लाभग्राहीको आफैँले औँठाछाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको अख्तियारले ठहर गरेको छ । मुद्दामा उनीहरुविरुद्ध अख्तियारले ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।