काठमाडौँ । वाणिज्य बैंकहरुले दुई महिनामा १६ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा कुल १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
चालु आर्थिक वर्षको दुई महिनामा बैंकहरुले कमाएको नाफा गत आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार चालुआर्थिक वर्षको दुई महिनामा २० वाणिज्य बैंकमध्ये १० वटा बैंकको नाफा बढेको छ भने दुई वाणिज्य बैंकको नाफा घटेको छ । यस अवधिमा सबैभन्दा धेरै सिद्धार्थ बैंक, एमएबी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकको नाफा बढेको छ । यी बैंकहरुको खुद नाफा अधिकतम ४० प्रतिशतसम्मले बढेको छ ।
यता सबैभन्दा धेरै नाफा हिमालयन बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्रभु बैंक र नबिल बैंकको घटेको छ । यी बैंकको नाफा अधिकतम ६८ प्रतिशतसम्म घटेको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफाका आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।