काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन उर्जामन्त्री देश छोडेर भागेको खुलासा गरेका छन् । सम्पत्ति छानबिन सुरु भएपछि तत्कालीन उर्जामन्त्री दिपक खड्का देश छोडेर भागेको गृहमन्त्री अर्यालले खुलासा गरेका हुन् ।
अर्यालले नयाँ पत्रिकासँगको अन्तर्वार्ताका क्रममा यस्तो दाबी गरेका हुन् । यद्यपि उनले खड्काको नाम नै किटान भने गरेका छैनन् ।
उनले भनेका छन्, ‘…ठूला नेताहरुको सम्पत्तिबारे छानबिन सुरु भएको छ । कतिपय भागिसके, तत्कालीन उर्जामन्त्री त भागिसक्नु भयो । अरु पनि भाग्ने प्रयासमा छन् ।’
जेन-जी आन्दोलनका क्रममा तत्कालीन उर्जामन्त्री खड्काको बुढानिलकण्ठस्थित घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । सोही बेला प्रदर्शनकारीले उनको घरमा भेटिएको पैसा उडाएको भिडियो पनि सार्वजनिक भएको थियो ।
आन्दोलनका क्रममा घरमा ठूलो मात्रामा पैसा भेटेपछि अन्तरिम सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको थियो । त्यसयता तत्कालीन उर्जामन्त्री खड्का कतै पनि सार्वजनिक भएका छैनन् । आफूमाथि छानबिन सुरु भएपछि उनी देश छोडेरै भागेको गृहमन्त्रीको दाबी छ । हाल अरु ठूला नेताहरु पनि भाग्न खोजिरहेको भन्दै उनले उनीहरुलाई रोक्न सरकारले आवश्यक तयारी गरिरहेको पनि बताएका छन् ।