काठमाडौं । लगातारको वर्षा र हिमपातका कारण अन्नपूर्ण आधार शिविरतर्फको पदयात्रा पूर्ण रूपमा रोकिएको छ । भारी हिउँ परेपछि विभिन्न स्थानमा रहेका पर्यटकहरू होटलमै रोकिएका छन् ।
म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाका माथिल्लो क्षेत्रमा गएरातिदेखि भएको वर्षासँगै परेको हिमपातका कारण पदमार्ग तथा सडक दुबै अवरुद्ध हुँदा पदयात्रीहरु रोकिएका हुन् ।
अधिकांस पदयात्री होटलमै रोकिएपछि होटलमा खाजा र तातो पानीको रेट बढेको छ । भारी हिउँ परेपछि अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा, कोखेडाँडा लगायतका पदयात्रा क्षेत्रहरूमा रहेका पर्यटक होटलमै बस्न बाध्य भएका छन् ।
मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयहरूले हिमपात र खराब मौसमका कारण सार्वजनिक सूचना जारी गर्दै हाललाई पदयात्रा नगर्न अनुरोध गरेका छन् ।
होटलमा बसेका पर्यटकहरुले एक ग्लास तातो पानीकै २०० रुपैयाँसम्म तिर्नु परिरहेको छ । एक कचौरा थुक्पाको १ हजार रुपैयाँसम्म परिरहेको छ भने २ वटा अण्डाको अमलेटको ५०० रुपैयाँसम्म तिर्नुपरिरहेको छ । निकै महँगो मेनु अहिले सामाजिक संजाल टिकटकमासमेत भाइरल भईरहेका छन् ।













