काठमाडौँ । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हो ।
गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । आज (मंगलवार) फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । ‘सुनको भाउ धेरै नै बढिसकेको थियो । दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । अब भने सुनको भाउ घट्छ ।’ महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले भने ।
सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको उनले बताए । उनले लगानीकर्ताहरु अहिले सुनमा भन्दा अन्यत्र डाइभर्ट भएकाले पनी सुनको भाउ घटेको बताए । उनले भने,’ अहिले मानिसहरु सुनबाट डाइभर्ट भएर सेयर मार्केटतर्फ आकर्षित भएको हामीले देखिरहेका छौँ । यसले केहि मात्रामा सुनको मूल्य घटाउन मद्दत गर्यो ।
उनका अनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो ।
बज्रचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेडवार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आँकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई-चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए ।













