Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बेथिती राष्ट्र बैंकले बल्ल देख्यो, अरु काण्ड पनि कति हो कति ! (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौँ । कुनै बेला २ प्लस २ ५ बनाउनुपर्छ भनेर तत्कालीन मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मिलेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बन्यो । तर, दुवै बैंकको हालत खराब भएर होला सायद, दुई खराब मिल्दा नतिजा सही निस्किएन । र त दिनानुदिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बेथितिको चङ्गुलमा बदनामीको पहाड बनेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक त्यही बैंक हो, जुन बैंकका कर्मचारीले हाकिमको टर्चर सहन नसकेर नदीमा हाम फालेको खबर सार्वजनिक भएको थियो । यो त्यही बैंक हो, जहाँ हाकिमले नचाहिने प्रेसर दिँदा कर्मचारी बैंकमै ढलेका थिए । सरकारले सकार्नुपर्ने सम्पत्ति सुटुक्क लिलाम गरेको प्रकरणदेखि डेपुटी सिइओमाथि लागेको महिला हिंसाको आरोपसम्म आइपुग्दा त बैंकले जिनतिन नाक जोगाएको थियो, यसपालिबैंकमा हदैसम्म बदमासी देखेपछि स्वयम् राष्ट्र बैंकले यो बैंकलाई कारवाही गरेको छ ।

नेपाल राष्ट्र बैंकले अन्य बैंकलाई विभिन्न कसुरमा कारवाही गर्नु ठुलो कुरा होइन, तर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केसमा भने राष्ट्र बैंक अलि सफ्ट हुने गरेको थियो । ‘घाउ भएको घुँडालाई काट्ने होइन’ भन्दै बिग्रिएको बैंकलाई धेरै कडाइ नगर्ने रणनीतिमा राष्ट्र बैंक पुगेको आभाष धेरै अघि देखि भएको हो । 

तर, बैंकिङको सामान्य सिद्धान्तसमेत बर्खिलाप हुनेगरि, ग्राहकको सही छाप समेत नगराई ऋण दिन थालेपछी, बैंकको ऋण तिर्न फेरी अर्को ऋण दिन थालेपछी, कसैलाई उही कर्जा महँगो कसैलाई सस्तो गर्न थालेपछी, बदमासीले सिमा नाघेपछि अन्ततः राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारवाही गरेको छ ।

हुन त केही समय अघि नै प्रश्न उठेको थियो, कुनै बैंकबाट उल्लेखनीय कर्जा प्रवाह नभएका बेला नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भकाभक किन कर्जा दिइरहेको छ ? कसलाई दिइरहेको छ ? किन दिइरहेको छ ? ऋण लिएर काम गर्ने वातावरण छैन भनिरहेका ग्राहकहरुको नाममा किन बैंकबाट करोडौँ करोड ऋण गइरहेको छ । खोज्दै जाँदा तथ्य त त्यस्तो रहेछ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋण तिर्न नसकेकाहरुलाई ऋण बिग्रेको छैन भन्ने देखाउन थप ऋण दिएर ब्याज र किस्ता असुल्ने गरेको रहेछ । र यो सिलसिला एउटा होइन, दुईटा होइन, दर्जनौं फाइलमा देखिएको छ ।

केही समय अगाडि विदेशी लेखापरीक्षकले गरेको लोन पोर्टफोलियो रिभ्युका क्रममा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा हदैसम्मको बदमासी भएको तथ्य देखिएको थियो । नेपालका २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी एभरग्रिनिङ र ऋणको दुरुपयोग हुने बैंक देखिएपछि राष्ट्र बैंकले पनि अव त हदै भयो भनेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले कारवाही त गरेको छ, तर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा यस्तो ऋणको संख्या अझै पनि कहालीलाग्दो छ । बर्षौंअघि देखि नै ब्याड भईसकेका ऋणलाई गुड देखाउने थप ऋण दिने काम भएको छ । बैंकका सिइओ ज्योति प्रकाश पाण्डे र डेपुटी सिइओ महेश ढकाल यस्तो ऋण नवीकरण गर्ने काममा सबैभन्दा अघि देखिएका छन् । यो पटक राष्ट्र बैंकले कारवाही गर्यो, त्यस्तो नहोस् तर बाटो दुवैजनाको जेलको त होइन ? भन्ने बहस सुरु भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ऋण तिर्न नासक्नेहरुलाई थप ऋण दिएर जनताको डिपोजिटमाथि भद्दा मजाक त गरिएको छ नै, धितोले नखाम्ने गरीसमेत बदनियतपूर्ण ऋण दिईएको छ । यहाँ तपाईं हामी २० लाख ऋण लिन जाँदा ५० लाख बढीको धितो खोज्ने बैंकले ठुला बडा, चिनजानका मान्छेलाई भने धितो न सितो, मनपरी ढंगले ऋण दिएको पाइएको छ । यतिमात्र होइन, उही प्रकृतिको कर्जामा कुनैमा कम कुनैमा बढी ब्याज लिएकोसमेत पाइएको छ । राष्ट्र बैंकले यहि बदमासी उपर पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले कारवाही त गरेको छ, तर सो कारवाहीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सिरियसली लिएको छैन । राष्ट्र बैंकले बैंकका अध्यक्ष र सीइओलाई सचेत गराए पनि सीइओ र अध्यक्ष सचेत भईहाल्ने स्थिति छैन । किन कि अव बिग्रिएका ऋण बिग्रियो है भनेर हात उठाउने हो भने, थप ऋण दिएर थप बदमासी नगर्ने हो भने बैंकको हालत झन् खराब हुने प्रष्ट देखिन्छ । र त कारवाहीका नाममा सचेत गराउने मात्र होइन, बैंकभित्र भएका चरम बदमासीविरुद्ध राष्ट्र बैंकले प्रष्ट डण्डा चलाउनुपर्ने देखिन्छ । नत्र त कुरो उही हो, डुबेको घोषणा नहुन्जेलसम्म कर्णाली डेभलपमेन्ट बैंक अडिटरको आँखामा पनि, राष्ट्र बैंकको आँखामा पनि ठिकठाक चलिरहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बदमासी कर्णालीमा भएको घोटाला भन्दा कम छैन, राष्ट्र बैंक बेलैमा सचेत बनोस् । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK