Skip to content
LAXMI SUNRISE BANK

‘हेल्लो सरकार ग्यास चाहियो !’, बजारमा ग्यासको चरम अभाव, अब के हुन्छ ? (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । घरमा आमालाई एउटै तनाव छ- ‘ग्यास सकिन लागिसक्यो, बजारमा ग्यास छैन, के गर्ने ?’
पढ्न बसेको विद्यार्थीलाई त्यही तनाव छ- ‘ओहो !, घरभेटीलाईग्यास छैन भनेको ग्यास पसलेले झन् डेरावालको पालो पछि दिन्छ, अव के गर्ने हो ?

दाल भात तरकारी अचार, चट्ट बनाउने श्रीमतीले ग्यास जोगाउने नाममा भात र तरकारी मात्र बनाउन थालिसकिन्, ग्यास गिजर अफ गर्न थालिसकिन् । बिदाको दिन मिठो मसिनो पाक्न छाडिसक्यो । बिदाचाहिँ खानपिन गर, रमाइलो गर भनेर दुई दिन दिने अनि, ग्यास चाहिँ नदिने त, ठिक भएन नि सरकार !

कर्मचारी, गृहिणी, सबैसबैलाई तनाव छ उही एक सिलिन्डर ग्यासको । किनकि बजारमा ग्यास छैन । छैन, छैन भनेपछि पाएकाहरुले पाएका बेला बढी ग्यास घरमा राखिरहेका छन् । त्यसले अभाव झन् बढाएको छ । मासु पसलेले दाइले पहिला पहिला कुखुरो पोल्दिम कि छाला निकाल्दिम भन्थे, अहिले पोल्नलाई ग्यास छैन भन्न थालिसके ।

बजारमा दुई थरी लाइन दिक्का लाग्दो छ, एउटा पासपोर्ट बनाउने लाइन, अर्को ग्यास कुर्ने लाइन । अनि यति धेरै ग्यासको समस्या हुँदा पनि सरकार बडो कन्फीडेन्सका साथ भनिरहेको छ- ‘कहाँ अभाव हुनु, ग्यासको त समस्या नै छैन नि ।’

अव सरकार यसो भन्छ भनेर पसले दाइलाई मागौँ, पसले दाइ त्यही सरकारसँग माग्नुस भनेर बचन लाउँछन् । गर्नु के ?

सरकारले जति समस्या छैन छैन भने पनि बजारको कठोर सत्य के हो भने बजारमा ग्यास छैन । पर्याप्त मात्रामा ग्यास नहुँदा नागरिक हैरान छन् । नत्र त ग्यासको लाइनमा बस्न कसलाई पो रहर हुँदो हो र ? सबै काम छाडेर रित्तो सिलिन्डर बोकेर पसलदेखि डिलरसम्म बस्ने रहर कसलाई पो हुँदो हो ।

अव बजारमा ग्यास छैन भन्ने कुरामा कुनै शंका नरहेपछि प्रश्न उठेको छ
हाफ सिलिन्डरबाट फुल ग्यास सिलिन्डर वितरण गर्न थालेपछि जब माग बढ्ने निश्चित थियो भने आयल निगमले तयारी किन गरेन ? पूर्ण सिलिन्डर वितरण गर्ने निर्णय त गरियो, तर त्यसअनुसार आपूर्ति किन बढाइएन ? यसको मूल्य आखिर किन सर्वसाधारणले चुकाइरहेका छन् ?

नेपाल आयल निगमले केही दिनअघि आधा भरिएका सिलिन्डरको व्यवस्था हटाएर पुनः पूरा तौलका सिलिन्डर वितरण सुरु गर्यो । सुनिँदा यो निर्णय उपभोक्ताका लागि राहतजस्तो लाग्न सक्छ । तर वास्तविकता ठीक उल्टो देखियो । घर-घरमा थन्किएका खाली सिलिन्डर एकैपटक बजारमा निस्किए । जसले गर्दा सामान्य अवस्थामा करिब ४८ हजार टन हुने मासिक माग एक्कासि ५५ देखि ६० हजार टन सम्म पुगेको अनुमान गरिएको छ ।

तर आश्चर्य के छ भने, माग यति धेरै बढ्दैछ भन्ने कुरा स्वयं निगमलाई थाहा थियो। ग्यास उद्योग संघले पनि सुरुका केही दिन ठूलो दबाब आउने चेतावनी दिएको थियो । तर, त्यसअनुसार अतिरिक्त मौज्दात गरिएन। आपूर्ति उल्लेख्य रूपमा बढाइएन। ढुवानी व्यवस्थापन बलियो बनाइएन । र परिणाम, आज देशभर ग्यासको हाहाकार छ ।

यो सरकारसँग नागरिकको अपेक्षा पनि ससाना कुरामा मात्र हो । जनतालाई घरघरमा ग्यासको पाइपको गफ सुनेर वाक्क भएका नागरिकले यो सरकारसँग मागेको भनेकोखाली सिलिन्डरमा ग्यास भरिदेऊ भन्ने मात्र हो । तर सरकार, व्यवस्थापनतिर लगेन । बरु संकट आएपछि पनि केहि समस्या छैन भनेर झुट बोलिरह्यो । अर्कोतर्फ, निगमले भारतका हल्दिया र दुर्गापुर रिफाइनरी बन्द हुँदा टाढाका रिफाइनरीबाट ग्यास ल्याउनुपरेकाले ढुवानी ढिलो भएको बताएको छ । तर यो सबको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको हो । यसमा सरकारले बहाना दिने होइन, समाधान दिनुपथ्र्यो ।

सकरारले पूर्ण तौलको सिलिन्डर बजारमा पठाउनुअघि अतिरिक्त ग्यास सञ्चय गर्नुपथ्र्यो, गरेन । बढी बुलेटको सुनिश्चितता गर्नुपथ्र्यो, गरेन । बजारमा कति माग आउँछ भन्ने स्पष्ट अध्ययन गर्नुपथ्र्यो, त्यो गरेन । तयारी नगरी हतारमा निर्णय गर्दा अहिले गरियो हजारौँ नागरिक ग्यासको लाइनमा बस्न बाध्य छन् ।

अनि यही मौकामा ग्यास पसलेहरुले ग्यास ब्ल्याकमा बेच्न थालेका छन् । बजारमा ग्यासको अभाव छ भने पछि धेरैले घरमा धेरै भन्दा धेरै सिलिन्डर राखिरहेका छन् । तर, त्यसको नियमन कसले गर्ने ? कहिले गर्ने ? सरकारले ग्यास अभाव नै छैन भनेपछि थप एक्सन लिने कुरै भएन, अनि सरकारले नै झुट बोलेपछि नागरिकले न्याय कसरी पाउलान् र ?

अझ ग्यास बेच्नेहरुको कुरा सुन्दा स्थिति झन् चिन्ताजनक छ । उद्योगीहरूको अनुमानअनुसार अहिलेको अवस्था पूर्ण रूपमा सामान्य हुन अझ दुई महिना लाग्न सक्छ । दुई महिनामा त भएको ग्यास पनि सकिन्छ । उस्तै परिवारमा अर्को दुईवटा ग्यास सकिन्छ । दुई महिनामात दशैं आउने बेला हुन्छ । अनि के गर्नु ?

त्यसैले सरकारले पहिला समस्या छ भनेर स्वीकार्नुपर्छ । अनि गलत गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्नुपर्छ । घरघरमा अनावश्यक बढी ग्यास जाने काम रोकिनुपर्छ । ब्ल्याकमा बेच्नेलाई हतकडी लगाउनुपर्छ । अनि समस्या छैन भनेर होइन, छ भनेर समाधानतिर जानुपर्छ । किनकि चुल्हो नै नबलेपछि सरकार हुनु र नहुनुको के अर्थ भयो र ? अनि यहि नाममा फेरी पूराना दलका झोलेहरुले बचन लाउन थाल्छन्, ‘खै त तिम्रो सरकारले ग्यास दिएको ? घन्टी समर्थक साथीहरु ग्यासको लाइनमा बसेको त सुहाएन हौ !’ भन्दै । त्यसैले सरकार, तिमीलाई भोट हालेका हातहरुले सिलिन्डर उचालेर लाइनमा बस्न बाध्य नबनाउ, भातै खान पाइएन भने त दुख गरेको, देशमा बसेको मज्जै भएन नि ! होइन र ? अहिलेलाई ग्यास अभावको समस्या समाधान गर । बाँकी कुरा, भात खाएर गर्दै गरौँला । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK