काठमाडौँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै बन्दीपुरका होटल तथा घरबास भरिभराउ भएका छन् ।
पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै बढेको छ । होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास बस्ने ठाउँ नपाएर केही पर्यटक फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु छ । होटल तथा घरबासमा पर्यटक भरिभराउ हुँदा व्यवस्थापन गर्न पनि कठिन भएको उनले बताए ।
उनका अनुसार बन्दीपुरमा स्वदेशी तथा विदेशी दुवै खालका पर्यटकको आगमन बढेको छ । चाडपर्वका कारण लामो बिदा हुनु र पर्यटकीय याम पनि सुरु भएकाले पर्यटकको चाप अत्यधिक बढेको हो । बन्दीपुरमा बास बस्न चाहने सबै पर्यटकलाई कोठा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
बन्दीपुरमा रहेका होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई बास बसाउने क्षमता रहेको छ । यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन् । तर, पानीको समस्याका कारण होटलले आफ्नो पूर्ण क्षमताअनुसार पर्यटक राख्न नसक्ने अवस्था रहेको अध्यक्ष बानियाँले बताए । पानीको उपलब्धताले होटल सञ्चालन र पर्यटक व्यवस्थापनमा असर पारेको उहाँको भनाइ छ ।
पर्यटकको चाप बढे पनि बासको व्यवस्थापन गर्न नसक्दा केही पर्यटक बन्दीपुरमै बस्न नपाई फर्किनुपर्ने अवस्था आउनु पर्यटन व्यवसायका लागि चुनौती बनेको छ । बन्दीपुरमा उपलब्ध होटल तथा होमस्टेको क्षमता र पूर्वाधारलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।
होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटक ओइरिएको बताए । बिदाको समय घुमफिरका लागि उपयुक्त हुने भएकाले परिवार तथा साथीभाइसँग आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । पर्यटकको चाप बढ्दा होटल व्यवसायमा उत्साह थपिएको भए पनि सबैलाई कोठा उपलब्ध गराउन कठिन भएको उनले बताए ।
बन्दीपुरको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका कारण यो ठाउँ पर्यटकको रोजाइमा पर्दै आएको छ । विशेषगरी बिदाको समयमा परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । विदेशी पर्यटक पनि बन्दीपुरको पुरानो बजार, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणको अनुभव लिन पुग्ने गरेका छन् । पर्यटकको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ ।
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्