Skip to content
LAXMI SUNRISE BANK

किसानसँग सरकारले किन्यो १५ हजार ८५२ क्विन्टल धान !

अर्थ सरोकार

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका ६ वटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ । कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको धान खरिद प्रक्रिया अन्तर्गत हालसम्म १५ हजार ८५२.२७ क्विन्टल धान खरिद गरिएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६ सय ६० निर्धारण गरेको छ । सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिएका छन् ।

यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गत वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष ५ हजार क्विन्टल घटाइएको हो ।

कम्पनीले जिल्लाका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ । विवरणअनुसार हालसम्म मोहनपुर केन्द्रबाट तीन हजार ९७०.३७ क्विन्टल, टीकापुरबाट दुई हजार ६७५.४६, सत्तीबाट तीन हजार ६६.३५, गौरीगङ्गाबाट एक हजार ६५२.१, भजनीबाट दुई हजार ३९०.५ र जोशीपुरबाट दुई हजार ९७.४९ क्विन्टल धान खरिद भएको छ ।

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ । तर, गत वर्षको तुलनामा यस वर्ष खरिद कोटा घटाइएकाले सरकारी खरिद प्रणालीबाट लाभान्वित हुने किसानको सङ्ख्या र खरिद हुने धानको परिमाण प्रभावित हुन सक्ने देखिएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा धान खरिदको कोटा बढाउन माग भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्लामा यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल खरिद गर्न माग गरेको छ ।

कार्यालय प्रमुख थापाका अनुसार समितिको गत कात्तिक २० गतेको निर्णयअनुसार कोटा बढाउन केन्द्रमा पहल भइरहेको छ । कोटा थप गर्ने विषयमा निर्णय भएपछि खरिद प्रक्रिया अघि बढ्ने उनले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK