Skip to content
LAXMI SUNRISE BANK

पोखरामा दाइँ महोत्सवः धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

अर्थ सरोकार

कास्की । पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो । धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए । महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए । खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यटकले रमाइलो मानेर हेरिरहेका थिए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नौबिसेटोलमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको थियो ।

संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गरिएको महोत्सवमा विदेशी पर्यटकले नेपाली धान थन्क्याउने परम्परालाई नजिकबाट नियाल्ने अवसर पाए । हिमालको पृष्ठभूमिमा धान चुट्ने र गोरु धपाउने दृश्य उनीहरूका लागि नौलो अनुभव बनेको थियो । केही पर्यटक आफैँ दाइँमा सहभागी भएर रमाएका थिए ।

इङ्ल्यान्डका पर्यटक मार्कले गोरु धपाउन सुरु गरे भने उनलाई अन्य पर्यटकले पनि साथ दिए । पदयात्राका लागि नेपाल आएका मार्कले दाइँ महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

‘म दुई हप्ताका लागि नेपाल आएको हुँ । पदयात्रामा जाने योजना छ । हिमालको पृष्ठभूमिमा धानको महोत्सवमा सहभागी भएर गोरु धपाउने काम मेरा लागि पहिलो अनुभव हो । म खुसी भएँ । स्वदेश फर्किएर साथीहरूलाई यसबारे सुनाउनेछु ।’, उनले भने ।

दुई महिनाका लागि अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आएकी जापानी पर्यटक हितुमीले पनि दाइँ महोत्सवमा सहभागी हुँदा उत्साहित भएको बताइन् । गोरु धपाउने अनुभव रमाइलो लागे पनि धान चुट्ने तरिका भने आफूलाई कठिन लागेको उनको भनाइ थियो । ‘मैले गोरु धपाएँ, राम्रो लाग्यो । तर धान चुट्न सकिनँ, अग्लो हुँदोरहेछ ।’, उनले भनिन्, ‘नेपालको कृषि गर्ने तरिका रमाइलो रहेछ ।’

चिनियाँ पर्यटक सन्देशले चीनमा पनि परम्परागत रूपमा यसैगरी खेती गर्ने गरिएको बताए । धान रोप्ने र थन्क्याउने तरिका नेपाल र चीनमा उस्तै रहेको उल्लेख गर्दै उनले आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुपर्ने बताएका छन् । ‘आजभोलि धेरै विकास भएको छ, ट्रयाक्टर र मेसिन आएका छन् । अबका बच्चाबच्चीलाई धान कसरी आउँछ भन्ने कुरा सिकाउनुपर्छ ।’, उनले भने ।

पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीवासी, विभिन्न विद्यालयका विद्यार्थी, बालबालिकालगायतको उपस्थिति थियो ।

महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण र किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुगेको बताए । ‘यसबाट आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढाउनुका साथै कृषि पर्यटनको विकासमा समेत योगदान पुग्ने विश्वास लिएका छौँँ ।’, अधिकारीले भने ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन प्रवद्र्धन होटलमा स्वदेशी तथा विदेशी पर्यटक ल्याएर राख्ने विषयमा मात्र सीमित नहुने बताएका छन् । पोखराको प्रकृति, संस्कृति र मौलिक परम्परालाई पर्यटकसमक्ष प्रस्तुत गर्नु पनि पर्यटन विकासको महत्वपूर्ण पक्ष भएको उनको भनाइ थियो । ‘पोखरा प्रकृति, संस्कृति र साहसिक गतिविधिमा धनी सहर हो । हाम्रा आफ्नै मौलिक संस्कृति र परम्परा छन् ।’, उनले भने, ‘नयाँ पुस्ता, देशका विभिन्न भागबाट आउने नेपाली दाजुभाइ तथा विदेशी पाहुनालाई आफ्नो संस्कृति पस्कनुपर्छ भनेर विगत लामो समयदेखि विभिन्न महोत्सव गर्दै आएका छौँ ।’

केही दिनअघि लेकसाइडमा गाईपूजा र कुकुरपूजाका गतिविधिमार्फत पनि विदेशी पर्यटकलाई नेपाली संस्कृति र प्रकृतिसँगको सम्बन्धबारे जानकारी गराइएको उनले बताएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । ‘असारमा रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भनेर चासो राख्न थालेपछि दाइँ महोत्सव सुरु गरेका हौँ ।’, उनले भने, ‘कृषिको आधुनिकीकरण बढ्दै गएको अहिलेको समयमा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने र पर्यटक आकर्षित गर्ने प्रयास गरेका छौँ ।’

महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सहरीकरण र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको परम्परागत कृषि प्रणालीको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको बताए महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण र कृषकलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्दै कृषि पर्यटनको विकासमा योगदान पुर्याउने उनको भनाइ थियो । महोत्सवमा धान चुट्ने, दँदेरी, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो । साथै, धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मानसमेत गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK