- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका तीन वटा वडालाई सिल गरिएको छ । नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन वडा नं ७, ८ र ९ लाई सिल गरेको हो । वडा नम्बर ८ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले ७ र ९ वडासमेत सिल गरेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।
सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जनाइएको छ । यस्तै खाद्यान्न पसल र व्यवसायमा कम्तीमा एक मिटर दूरी कायम गरेर बिहान ७ देखि ९ बजे सञ्चालन अनुमति दिइएको छ । साथै नगरपालिकाले घरबाट बाहिर निस्किन पनि रोक लगाएको छ ।
नगरपालिकाको नियम उलंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित निकायबाट कारबाही गरिने प्रमुख श्रेष्ठले बताए ।