
काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा रहेका नेपाली भोलिदेखि नेपाल फर्कने भएका छन् । पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार एयर अरेबियाको ‘चार्टर फ्लाइट’बाट १६८ यात्री क्षमताको विमानले नेपालीलाई ल्याउनेछ । त्यसका निम्ति परराष्ट्र मन्त्रालयले अबुधाबीस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।
विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण र समन्वयको जिम्मेवारी पाएका दुवै मन्त्रालयले प्राथमिकताका आधारमा नेपालीलाई ल्याउन आवश्यक गृहकार्य गरिरहेको छ । श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ । विदेशबाट फर्किएका सबैलाई क्वारेन्टिनमा राखिनेछ । त्यसअघि उनीहरूलाई ल्याउनुअघि जहाँबाट आउने हो त्यही नै स्वास्थ्य परीक्षण गरिनेछ भने नेपाल आएपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टिनको प्रक्रिया पूरा गरेपछि मात्र उनीहरूलाई आ–आफ्नो घर पठाइनेछ ।
विदेशबाट नागरिक नेपाल ल्याएपछि सम्बन्धित प्रदेशमा पठाउन सातवटै प्रदेशका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकिएको छ । तोकिनुभएका मन्त्रीहरूले नै आफ्नो प्रदेशमा रहेका स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा बसिसकेकाहरूलाई घर पठाउने व्यवस्था गर्नुहुनेछ । प्रदेश नं १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, प्रदेश नं २ मा श्रममन्त्री रामेश्वर राय, वाग्मती प्रदेशमा महिला बालबालिका मन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश नं ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा उद्योगमन्त्री लेखराज भट्टलाई फोकल पर्सन तोकिएको छ ।
यसैबीच, परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार ४० हजारको हाराहारीमा विदेशमा रहेका नेपाली नागरिकले स्वदेश फर्कन चाहेका छन् । सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा उनीहरूको विवरण सङ्कलन भइरहेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा विदेशबाट आउने नेपालीका लागि ‘होल्डिङ सेन्टर’को व्यवस्था गरिएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्