×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५५ दिनयता कोरोनामुक्त बन्यो बागलुङ, संक्रमितको संख्या सून्य

PRIME CA

५५ दिनयता कोरोनामुक्त बन्यो बागलुङ, संक्रमितको संख्या सून्य

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

Baglung
बागलुङ । गत चैत २० मा दोस्रो कोरोना सङ्क्रमणको घटना पुष्टि भएयता बागलुङ जिल्ला कोरोनामुक्त बनेको छ । त्यसयता जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छैनन् । त्यसअघि चैत १५ मा बागलुङ नगरपालिका-४ की १९ वर्षीया युवतीमा पहिलोपटक कोरोना देखिएको थियो । बेल्जियमबाट युवतीसँगै फर्किएकी सोही नगरपालिका(३ की ६५ वर्षीया महिला जिल्लाको दोस्रो सङ्क्रमित छन् । उनीहरु चैत ४ मा कतार एयरको विमानबाट दोहा हुँदै काठमाडौं आएका थिए । युवती नेपालको पाँचौ र महिला छैटौँ सङ्क्रमित छन् । कोरोनालाई जितेपछि दुवै सामान्य जीवनमा फर्किसकेका छन् । धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी घर फर्केको पनि महिना दिन बितिसक्यो ।
चैत १० मा काठमाडौँकी १९ वर्षीया युवतीमा कोरोना देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा जिल्लाका दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँकी युवती पनि फ्रान्सबाट दोहा हुँदै कतार एयरको विमानमार्फत नेपाल आउनुभएको थियो । नेपालमा कोरोना प्रवेशको शुरुआती चरणमै बागलुङका दुई व्यक्तिमा सङ्क्रमण फेला परेपछि जनसाधारणमा एकाएक त्रास छाएको थियो । घर आएको ११ दिनपछि युवतीमा र १६ दिनपछि महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सो अवधिमा सङ्क्रमितले परिवारका सदस्य, बसोबास क्षेत्र र भौतिक सम्पर्कमा आएका व्यक्तिमा भाइरस सारेको हुनसक्ने भयले धेरैलाई सताएको थियो । सौभाग्य नै मान्नुपर्छ दुवै जनाबाट अर्को व्यक्ति सङ्क्रमित भएको पाइएन । तत्कालै ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी कोरोना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आयो । घरकै सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा कोरोना नदेखिएपछि जिल्लावासीमा उत्पन्न डरको ताप घट्यो । स्थानीय अधिकारी, जनस्वास्थ्यकर्मी र चिकित्सक समुदायमा सङ्क्रमण नसरेको निष्कर्षमा पुगे ।
झण्डै दुई महिना बित्न लाग्दासम्म नयाँ सङ्क्रमण नभेटिनुलाई स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले समुदायमा भाइरस नफैलिएको रुपमा अथ्र्याए । ‘पहिले भेटिएका सङ्क्रमितबाट कुनै जोखिम आइलागेन’, उनले भने, ‘भारतलगायत बाहिरी ठाउँबाट जिल्ला भित्रने क्रम शुरु भएकाले अब जोखिम थपिँदैछ ।’ उनले नेपाल कोरोनामुक्त नभएसम्म जिल्लामा सङ्क्रमणको जोखिम सधैँ रहिरहने बताए । प्रमुख गुरौले पछिल्ला दिनमा सयौँको सङ्ख्यामा मानिसहरु भारतबाट जिल्ला फर्केकाले सङ्क्रमण फेरि देखिन सक्ने सम्भावना औँल्याए ।
‘स्थानीय समुदायमा कोरोना नभए पनि बाहिरबाट आउनेबाट सङ्क्रमणको खतरा छ’, उनले भने, ‘क्वारेन्टिन व्यवस्थापन र बढीभन्दा बढीमा कोरोना जाँच गर्नुबाहेक हामीसँग अरु विकल्प छैन ।’ स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आएका करिब ३०० अहिले क्वोन्टिनमा छन् । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले पनि भारतलगायत सङ्क्रमित क्षेत्रबाट आएका व्यक्तिबाट सङ्क्रमणको जोखिम रहेको उल्लेख गरे । उनले लामो समयसम्म नयाँ सङ्क्रमण नभेटिनुलाई सुखद् मान्नुपर्ने बताए ।
दुई सङ्क्रमितलाई निको बनाएको अस्पतालले शङ्कास्पद बिरामीलाई पनि आइसोलेसनमा राखेर उपचार गर्ने गरेको छ । ‘ज्वरोका बिरामीलाई विशेष निगरानी गर्छौँ, शङ्कास्पद देखिएमा कोरोना जाँच हुन्छ’, प्रमुख चिकित्सक पोखरेलले भने । अहिले अस्पतालको आइसोलेसनकक्षमा कोही पनि बिरामी छैनन् । नयाँ सङ्क्रमित फेला नपरे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको प्रमुख चिकित्सक पोखरेलको भनाइ छ । ‘सम्भावित जुनसुकै अवस्थाका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ’, उनले भने ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन सैँजूले भारतबाट आउने नागरिकलाई व्यवस्थित क्वारेन्टिनमा राख्नु नै अहिलेको मुख्य जिम्वेवारी रहेको बताए । ‘उहाँहरुलाई क्वारेन्टिनमा राख्ने र पिसीआर विधिबाट कारोना जाँचका लागि हाम्रो पहल अघि बढेको छ’, उनले भने ।
प्रजिअ सैँजूका अनुसार क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको छ । भारतलगायतका ठाउँबाट एकैसाथ ठूलो सङ्ख्यामा सर्वसाधारण भित्रिँदा क्वारेन्टिनमा श्यया थप्नु र गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
जिल्ला कमाण्ड पोष्टले कोभिड(१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबै पक्षसँग समन्वय र सहकार्यमा काम गरिरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, उच्च निगरानी र सावधानी, बन्दाबन्दीको पालनाजस्ता कारणले कोरोना नियन्त्रणमा सघाएको कमाण्ड पोष्टको बुझाइ छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक हजार २७१ जनामा दु्रत जाँच र ३०८ जनामा पिसीआर विधिबाट कोरोना जाँच गरिएको छ । जसमध्ये १८ जनाको रिपोर्ट आउन बाँकी छ । सोमबार पनि पत्रकारलगायत थप शङ्कास्पद व्यक्तिमा कोरोना जाँचका लागि स्वाब लिइएको छ । जिल्लामा सङ्कलित स्वाबको नमूना परीक्षण पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: