×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजारमा औषधि अभाव हुँदैन, अझै तीन चार महिनाका लागि औषधि बाँकी छ’ : औषधि व्यवस्था विभाग

LAXMI SUNRISE BANK

‘बजारमा औषधि अभाव हुँदैन, अझै तीन चार महिनाका लागि औषधि बाँकी छ’ : औषधि व्यवस्था विभाग

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन । केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले अभाव नहुने देखिएको छ । औषधि व्यवस्था विभागले बन्दाबन्दी शुरु हुनासाथ पाँच ६ महिनाका लागि औषधि रहेको जनाएको थियो । त्यही आधारमा बन्दाबन्दी आज दुई महिना बितेकाले अझै तीन चार महिनाका लागि औषधि बाँकी रहेको औषधि व्यवस्था विभागले जनाएको छ । त्यसो त भारतबाट आउने औषधि पनि आइरहेको छ भने स्वदेशी उत्पादकले पनि उत्पादन गरिरहेका छन् ।
विभागले अहिले कति औषधि मौजुदा अवस्थामा छ भनी अध्ययन गर्न लागेको सूचना अधिकारी सन्तोष केसीले बताए । उनले भने, “महिना नै तोकेर यति समयका लागि औषधि छ भन्न नसकिए पनि अझै केही महिना समस्या नहुने देखिएको छ ।” बन्दाबन्दीपछि केही समय यातायातका कारण कतिपय स्थानमा औषधि ढुवानीमा समस्या देखिए पनि अहिले ढुवानी सहज बन्न थालेको उनले बताए । अहिले कुनै कुनै ठाउँमा केही कारण औषधि नपुगेको भए पनि समग्रमा देशभित्र औषधिको अभाव नरहेको विभागले जनाएको छ ।
सरकारले बन्दाबन्दी जारी राखिरहँदा औषधिको उत्पादन, आयात र ढुवानी गर्नेलाई पास उपलब्ध गराएको छ र ती सवारीलाई छुट दिइएको छ । नेपालमा विदेशबाट आउने औषधिमध्ये ८० प्रतिशत भारतबाटै आउने गरेको छ । भारतमा ‘लकडाउन’ हुनासाथको अवस्थामा १३ प्रकारका औषधि र कच्चा पदार्थ रोकिएकाले समस्या भएको थियो । अहिले भारतबाट आउने औषधि नियमित आएकाले समस्या नभएको उनले बताए । भारतमा यातायात सहज भएपछि औषधि आयात अझै सहज हुने देखिएको छ । उनले भने, “भारतले उडान खुलाउँदा औषधि आयात गर्न अझै सजिलो हुनसक्छ ।”
सरकारको केही वर्ष पहिलेको तथ्याङ्कअनुसार नेपालमा उपभोग हुने औषधिमध्ये ४५ प्रतिशत स्वदेशी उत्पादन र ५५ प्रतिशत आयात हुने गरेको छ । केही वर्ष पहिलेको यो आँकडालाई सरकार अद्यावधिक गर्न अध्ययन गरिरहेको सूचना अधिकारले केसीले बताए । अहिले स्वास्थ्य सेवा विभाग आफैँले पनि केही औषधि बोलपत्र गरेर खरिद प्रक्रिया अघि बढाएको छ । बन्दाबन्दी हुनु पहिले र हुनासाथ कतिपय नागरिकले औषधि अभाव हुनसक्ने भन्दै लामो अवधिका लागि खरिद गरेका थिए । नियमित औषधि सेवन गर्नेमध्ये धेरैले पहिले लामो अवधिका लागि औषधि खरिद गरिसकेकाले अहिले बजारका औषधिको व्यापार कम भएको छ । उनले भने, “अहिले सामान्य मात्रामा मात्रै बिक्री रहेको पाइन्छ ।”
स्वदेशी उत्पादकले बन्दाबन्दी पहिले ल्याएर बाँकी रहेको कच्चा पदार्थबाट औषधि उत्पादन गरिरहेका छन् । नेपालमा उत्पादन हुने औषधिको कच्चा पदार्थमध्ये धेरै चीनबाट आयात हुने गरेको छ । अहिले कच्चा पदार्थको मूल्य वृद्धि भएको स्वदेशी उत्पादकले भनिरहेका छन् । मूल्यवृद्धिका कारण कच्चा पदार्थ ल्याउन र उत्पादनमा समस्या हुनसक्छ भनी व्यवसायीले ध्यानाकर्षण गराएको उनले बताए । तर, यो विषयमा अहिलेसम्म ठोस रुपमा पेश नभएको उनले बताए । उनले भने, “सम्बन्धित निकायबाट कागजात आएमा सरकारले आवश्यक निर्णय गर्ला ।” 
बन्दाबन्दीको शुरुका दिनमा ढुवानी समस्यासँगै आवश्यक जनशक्तिको समेत समस्या रहेको उनले बताए । अहिले कतिपय उद्योगले आफ्नै साधनबाट ढुवानी गरिरहेका छन् । औषधि उत्पादकले भने तत्काल बजारमा अभाव नभएको भनी ढुक्क हुने अवस्था नरहेको बताएको छ । स्वदेशी उद्योगले पनि बजारको मागअनुसार उत्पादन गर्न नसकिरहेको र विदेशबाट पनि आयातमा समस्या आउनसक्ने औषधि उत्पादक केदार सिजापतिले बताए । बन्दाबन्दी पहिले नै धेरै नागरिकले घर घरमा औषधि लगेकाले तत्काल समस्या नभएको उनले बताए । उनका अनुसार सीमा विवादका कारण समस्या आउनसक्ने भन्दै कतिपयले अहिले पनि थप समयका लागि औषधि खरिद गरिसकेका छन् । उनले भने, “सामान्य अवस्थामा एक हप्ताका लागि औषधि किन्नेले अहिले एक महिनाका लागि र महिनाका लागि किन्नेले ६ महिनाका लागि किनेको पाइन्छ ।” 
कच्चा सामग्रीमध्ये ८० प्रतिशत चीनबाटै आउने गरेको थियो । अहिले आउनुपर्ने कच्चा पदार्थ नआएको उनले बताए । कच्चा पदार्थको भाउ बढेकाले पनि उत्पादकलाई गाह्रो भइरहेको उनले बताए । भारतमा पनि आवश्यक कच्चा पदार्थको अभाव हुँदा आवश्यक मात्रामा औषधि उत्पादन हुन नसक्ने उनले बताए। औषधि आउँदा पनि कत्तिको गुणस्तरीय औषधि भन्ने कुरा पनि महत्वपूर्ण हुने उनले बताए । उनले भने, “समयमा नै यी कुरामा ध्यान दिन आवश्यक छ ।” -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी