×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दाबन्दीको समयमा ‘स्मार्ट’ कार्डको छपाइ जारी, एक लाख ४० हजार कार्ड छापिए !

LAXMI SUNRISE BANK

बन्दाबन्दीको समयमा ‘स्मार्ट’ कार्डको छपाइ जारी, एक लाख ४० हजार कार्ड छापिए !

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा १ लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “अहिले सामान्य अवस्थामा जति नै छपाइ भइरहेको छ ।”
बन्दाबन्दीको समयमा अहिले ‘मास प्रिन्टर’ बाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै संख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जानकारी दिएको छ । कोभिड–१९ को जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको महानिर्देशक हमालले बताए । 
दैनिक ३ चरणमा ‘मास प्रिन्टर’ सञ्चालनका लागि दुई–दुई जना कर्मचारी कार्यालय आउने गरेका छन् । उनले भने, “एउटा सिफ्टको कर्मचारी गएको एक घण्टापछि मात्रै अर्को कर्मचारी आउने गरी मिलाइएको छ ।” विभागले मास्क, पञ्जा लगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको छ । बन्दाबन्दी पहिले झण्डै साढे ४ लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा अझै ३ लाख छाप्न बाँकी छ । बाँकी अनुमतिपत्र आगामी असारभित्रमा छापिसक्ने योजना रहेको विभागले बताएको छ । 
छापिएका अनुमतिपत्र अहिले विभागमै रहेका छन् । बन्दाबन्दी सकिएपछि विभागले प्रदेश सरकार अन्तर्गतको अनुमतिपत्र यातायात व्यवस्था कार्यालय लैजानेछ । कार्यालयले सेवाग्राहीलाई वितरण गर्नेछ । अहिले दैनिक छपाइ भइरहे पनि कर्मचारी आउन–जान कठिनलगायत समस्या छन् । उनले भने, विभिन्न स्थानमा प्रहरीले कर्मचारीलाई पनि रोक्ने गरेका छन् । सरकारले ४ वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेदेखि नै सेवाग्राहीले राजस्व तिरेको लामो समयपछि मात्रै अनुमतिपत्र पाउने गरेका थिए । 
नयाँ संविधान अनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालयहरु संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ । सरकारले झण्डै ८ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा ‘मास प्रिन्टर’ ल्याइएको थियो । त्यो आइपुगेको २ महिनासम्म पनि जडान गर्ने र तथ्यांक सार्ने लगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । 
पहिलो केही साता १ सिफ्टमा मात्रै सञ्चालन भएकामा २ सिफ्ट हुँदै अहिले ३ सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कयौं गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताए । सामान्य प्रिन्टरले १ महिनामा ३ हजार छाप्ने भए पनि ‘मास पिन्टर’ को क्षमता दैनिक ५ हजार छाप्ने रहेको छ । विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ ।
हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैं छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि गरिसकेका छैनन् । 
विभागमा गत वर्षहरुमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै, छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो संख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।  -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी