- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । कैलालीको अत्तरिया बजारमा रहेका ५० वटा पसल सिल गरिएको छ। गोदावरी नगरपालिका २ पहाड रोडमा अवस्थित अत्तरिया चोकदेखि उत्तरपट्टिका करिब ५० पसल सिल गरिएको हो । बिहीबार साँझ भारतबाट उद्दार गरिएकाहररू उक्त क्षेत्रका मानिसहरुको सम्पर्कमा आएकाले पसलहरू सिल गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता शमानन्द भट्टले जानकारी दिए । उनले कोरोनाको जोखिमयुक्त क्षेत्रबाट आएकाहरुको सम्पर्कमा आएकाले सो क्षेत्रमा जोखिम बढेकाले सिल गरिएको बताए। उनका अनुसार सो क्षेत्रका मानिस त्रसित भएपछि सिल गरिएको हो ।
भारतबाट गाडीहरुमा आएका मानिसहरुसंग सामान किन्ने क्रममा प्रत्यक्ष सम्पर्क भएको र भारतबाट उद्दार गरिएर ल्याएकाहरुले उक्त क्षेत्रका पसलहरुबाट समान किनेको पाइएको उनको भनाइ छ । प्रवक्ता भट्टका अनुसार केही व्यक्ति गाडी भित्रै सामान पनि पुर्याउन गएका र त्यहाँ स्थानीय नै त्रसित भएपछि सिल गरिएको हो । उनीहरूको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्नका लागि तथ्यांक संकलन भइरहेको उनले जानकारी दिए । बिहीबार गौरीफन्टा नाकाबाट दुई हजार बढी नेपालीलाई उद्दार गरी स्वदेश ल्याइएको थियो ।