×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्ज क्षेत्रबाट उदयपुरमा उपभोग्य वस्तु आपूर्ति गर्दा कोरोना वृद्धिको खतरा बढेपछि ढुवानीमा रोक लगाउने तयारी !

LAXMI SUNRISE BANK

वीरगञ्ज क्षेत्रबाट उदयपुरमा उपभोग्य वस्तु आपूर्ति गर्दा कोरोना वृद्धिको खतरा बढेपछि ढुवानीमा रोक लगाउने तयारी !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

उदयपुर । पर्साको वीरगञ्ज क्षेत्रमा तीव्ररुपमा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यहाँबाट उदयपुर भित्रिने दैनिक उपभोग्य वस्तुका कारण कोरोना सङ्क्रमण बढ्ने खतरा देखिएको छ । वीरगञ्ज क्षेत्रबाट ढुवानी हुने अधिकांश दैनिक उपभोग्य वस्तुका कारण उदयपुरमा कोरोना सङ्क्रमणको खतरा झनै बढ्न सक्ने भन्दै यहाँका व्यापारी र नागरिक समाजले तत्कालका लागि वीरगञ्जबाट उपभोग्य वस्तु ढुवानीमा रोक लगाउनु पर्ने बताएका छन् । 
अहिले तीन महिनासम्मका लागि खाद्यान्न बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था नरहेको भएतापनि तेल, चिनी, दालसहित अन्य उपभोग्य वस्तु बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था रहेको र आपूर्ति हुने अधिकांश दैनिक उपभोग्य वस्तु पर्साको वीरगञ्जबाट आपूर्ति हुने हुनाले तत्काल वीरगञ्जबाट कुनै पनि उपभोग्य वस्तु आपूर्ति गर्न नहुने धारणा उनीहरुको छ । 
गाईघाटका व्यापारी कुमार घिमिरेका अनुसार अहिले उदयपुरमा खाद्यान्न बाहिरबाट तत्काल आपूर्ति गर्नुपर्ने अवस्था नभए पनि अन्य उपभोग्य वस्तु आपूर्ति गर्नुपर्ने अवस्था रहेको र ती सबै पर्साको वीरगञ्जबाट आपूर्ति हुने गरेका कारण अब उदयपुरमा कोरोना सङ्क्रमण झनै बढ्ने खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब वीरगञ्ज क्षेत्रबाट उपभोग्य वस्तु आपूर्ति तत्कालका लागि बन्द गर्नुपर्छ र आवश्यक परे यसको विकल्प खोज्नुपर्छ, नत्र उदयपुर कोरोनाको सङ्क्रमणमा झनै फस्ने अवस्था आएको छ, तत्काल वीरगञ्जबाट वस्तु आपूर्ति बन्द गर्नुपर्छ ।”
त्रियुगा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष भरत राईका अनुसार अहिलेसम्म वीरगञ्जबाट उदयपुरमा ८० प्रतिशतभन्दा बढी उपभोग्य वस्तु आपूर्ति हुने गरेको र अब त्यस क्षेत्रमा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेकाले तत्काल आपूर्ति बन्द गरेर विकल्प खोज्नुपर्ने बताउनुभयो । मानव अधिकारकर्मी महिला अभियन्ता महेश्वरी राईले अहिलेसम्म वीरगञ्जबाट दैनिक उपभोग्य वस्तु आपूर्ति हुने गरेको भए पनि अब तत्कालै बन्द गरेर यसको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । यस्तै गाईघाटकै व्यापारीद्वय सीताराम ढकाल र दुर्गा पौडेलले तत्काल वीरगञ्जबाट उपभोग्य वस्तु आपूर्ति बन्द गरेर विकल्प खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले भन्नुभयो, “अहिलेसम्म उदयपुरको भुल्केमा मात्र कोरोना सङ्क्रमण रहेको छ, बाँकी जिल्लाका सबै स्थान सुरक्षित देखिएको छ, अब वीरगञ्जबाट ढुवानी गरिएका वस्तु खुल्ला उपभोग गर्ने हो भने जिल्लाका सबै उपभोक्ता र व्यापारी कोरोना सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना छ । त्यसैले यस तर्फ सम्बन्धीत निकायले बेलैमा ध्यान दिउन् ।” उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भन्नुभयो, “अहिले उदयपुरमा ८० प्रतिशत उपभोग्य वस्तु वीरगञ्जबाट भित्रिने गरेका छन्, त्यस क्षेत्रमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएपछि अब वीरगञ्जबाट वस्तु ढुवानी गर्ने कुरा हाम्रा लागि चिन्ताको विषय भएकाले यसको विकल्प खोज्नेबारे प्रशासनले अध्ययन शुरु गरेको छ ।” -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी