लमजुङ । प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका-८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो । प्रदेश सरकारको चालु आव २०७७/७८ मा सञ्चालन भएका ५० योजनाका लागि ११ करोड ६० लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका योजनाहरूमा २४ लाख लागतको दोर्दी गाउँपालिका-२ को अर्चलबोट खानेपानी आयोजना ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका-७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ ।
त्यस्तै १२ लाख लागतको मध्यनेपाल नगरपालिका-८ को कल्याणबेँसी खानेपानी योजना, १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङ्दी गाउँपालिका-१ र २ को घनापोखरा खानेपानी आयोजना १२ लाखमा सम्पन्न भएको छ । त्यस्तै दोर्दी गाउँपालिका-८ बन्सार खानेपानी आयोजना ३७ लाख लागत, राइनास नगरपालिको राइनास बृहत् खानेपानी आयोजना ३२ लाख ५० हजार बजेट, बेँसीशहर नगरपालिका-४ को हिले खानेपानी आयोजना र चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ । मस्र्याङ्दी गाउँपालिका-४ को मिप्रा स्याँगे खानेपानी आयोजना १२ लाखमा काम सकिएको छ ।
त्यस्तै क्व्होलासोंथर गाउँपालिका-६ को पसगाउँ खानेपानी आयोजना ३७ लाख बजेटमा, १२ लाखमा बेँसीशहर नगरपालिका-२ मा असिमुरे खानेपानी आयोजना, १२ लाखमा सुन्दरबजार नगरपालिका-५ खरिभञ्ज्याङ खानेपानी आयोजना, ३६ लाखमा मध्यनेपाल नगरपालिका-३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका-८ को बलिथुम खानेपानी आयोजना, सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङले जनाएको छ । बाँकी अन्य निर्माणाधीन आयोजनासमेत अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाहरू सङ्घीय ससर्त अनुदानका २५ योजनामध्ये नौवटा आयोजनाहरुसमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाका कामसमेत तीव्र गतिमा अघि बढिरहेको बताइएको छ । -रासस