- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अहिलेसम्ममा विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जना पुगेको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएको र ७५ हजार २४५ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ लाख ५६ हजार ५१२ पुगेको छ ।
विश्वमा सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुने देशमा अमेरिका रहेको छ । अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा थप २ हजार ८०४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३१८ पुगेको हो । साथै, २५ हजार ९८५ जना नयाँ संक्रमित फेला परेको छ । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १८ हजार ७७४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३ जना उपचारपछि निको भएका छन् ।
इटालीमा पनि पछिल्लो २४ घण्टामा ५३४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । साथै, २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ । इटालीमा संक्रमितमध्ये ५१ हजार ६०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७०९ जनामध्ये २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ । त्यहाँ २ लाख ४ हजार १७८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ५१४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ३८२ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यस्तै फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सुरुवात भएको मुलुक चीनमा ३० जना नयाँ संक्रमित देखिए पनि पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको कोरोना भाइरसले मृत्यु भइसकेको छ ।