×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन प्रभाव : चेपाङ बस्तीमा खानानै सकियो

LAXMI SUNRISE BANK

लकडाउन प्रभाव : चेपाङ बस्तीमा खानानै सकियो

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रासस 
धादिङ – फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिनुभयो २१ वर्षीया सानुमाया चेपाङ । बेनीघाटरोराङ गाउँपालिका–६ ममाङकी सानुमाया गाउँमा कोरोनाको त्रास बढे पनि बाँच्ने आशामा गाउँ घुम्न बाध्य हुनुभएको छ । केही दिनअघि घर आगलागी भयो । खरको छानाको घर जलेर नष्ट भयो । ज्याला गरेर ल्याइएको अन्न र घरमा भएको लुगा सबै जल्यो । घरमा खानेकुरा भएन । बुमराङ गाउँमा भेटिनु भएकी सानुमाया काखमा एक महिनाको शिशु बोकेर खानेकुरा माग्दै हिँड्नुभएको हो । उहाँका दुई शिशु घरमा नै छन् । उहाँका श्रीमान् घरमा तिनलाई कुरेर बस्नुभएको छ । 
एक हलको मेलो जग्गाले उहाँहरुलाई खान पुग्दैन, ज्याला गरेर खानुपर्छ । कोभिड –१९ को त्रास फैलिएका बेला गाउँमा समेत काम नपाएपछि सो परिवार समस्यामा परेको हो । गाउँमा मागेको खानेकुराले परिवार पालिएको सानुमायाले राससलाई बताउनुभयो ।
खरको छानो भएको घरभित्र एक डोको मकै, खाना पकाइने भाँडा र लगाइने लुगा समेत एकसरो पुरानो मात्र रहेको ३० वर्षीया सोल्टीमाया चेपाङको परिवार छुट्टै समस्याले गाँजिएको छ । खोरियाबारी । ज्याला गरेर बाँच्नु पर्ने अवस्थाको परिवार । श्रीमान् ६० वर्षका हुनुभयो । हाल उहाँसँंग सात जनाको परिवार छ । खानबस्न समस्या छ । दादुराका कारण थलिएकी छोरी कोरोनाको त्रासका कारण उपचार नपाएर आँगनमै बसिरहेकी छन् समस्यामाथि समस्या आएको चेपाङ परिवार बाँच्नका लागि हरेक दिन संघर्ष गरिरहेछ । कोरोना भाइरसको जोखिमले लकडाउन भएपछि काम नपाइएकाले आफूहरु थोरैथोरै खोले खाएर बसिरहेको सोल्टीमायाले बताउनुभयो ।
चेपाङ गाउँका यी प्रतिनिधिमूलक परिवार हुन् । गाउँमा समेत काम नपाएपछि उहाँहरु जस्तै बुमराङका सात परिवार, बुङपुङ तार्केटारका पाँच परिवार र रोतेसका सात परिवार खानेकुरा सकिएर समस्यामा परेको वडाध्यक्ष देवकृष्ण आलेले बताउनुभयो । यो हालको समस्याले बढी समस्यामा परेको भए पनि खोरियाबारी अनि थोरै अन्नले परिवार पाल्दै आएको यस क्षेत्रमा २२० घर चेपाङ संघर्षपूर्ण तरिकाले बाँचिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी