×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमितकि परिवारको मन नै चस्स छुने कथाव्यथा, ‘नानीको स्वास्थ्य ख्याल गर्नू, हामीलाई ठीकै छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना संक्रमितकि परिवारको मन नै चस्स छुने कथाव्यथा, ‘नानीको स्वास्थ्य ख्याल गर्नू, हामीलाई ठीकै छ’

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै थिइन् । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए । उनका छिमेकी आ(आफ्ना काममा व्यस्त थिए । कोही खेतमा काम गर्दै थिए त कोही छतमा घाम तापेर बस्दै थिए । बाहिर मिडिया र सामाजिक सञ्जालमा आएजस्तो कुनै त्रास त्यहाँ थिएन । सबै आफ्नै धुनमा व्यस्त देखिन्थे ।
एकैछिनमा नगरपालिकाले पठाएको दमकल पुग्यो । युवतीमा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि छापा गाउँ बढी प्रभावित भन्दै दमकल कीटनाशक औषधि भरेर त्यहाँ पुगेको थियो । दमकल पुग्दा सबैले ‘पहिला प्रभावित घरलाई सुरक्षित बनाउनुपर्छ’ भन्दै त्यहाँ पुगेका स्वास्थ्यकर्मी दिनेश जिसीलाई सल्लाह दिए । जिसी बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम टिमका ’फोकल पर्सन’ पनि हुनुहुन्छ । आफ्ना तीन सहकर्मीसहित त्यहाँ पुगेका स्वास्थ्यकर्मी जिसीले छिमेकीको सल्लाह माने । फुपूलाई भित्र बस्न भने, र चोकमा दमकल राखेर संक्रमित युवती बसेको घरसहित वरपर कीटनाशक औषधि छर्किन लगाए ।
छिमेकी घरको छतमा बसेर दमकलबाट निस्केको ‘डिस्इन्फेक्सन स्प्रे’को फोहरा रमाइलो मानेर हेरिरहेका थिए । एकैछिनमा जिसीले माइकबाट छिमेकीसहित सबैलाई भित्र बस्न अनुरोध गरे। उनी भन्दै थिए, ‘हामी तपाईँहरुको सुरक्षा लागि काम गरिरहेका छौँ ,हजुरहरु घरभित्रै वसेर सहयोग गर्नुहोस् ।’ दमकलले संक्रमितको घर मात्रै होइन, छापा गाउँभरी तीन हजार लिटर ‘डिस्इन्फेक्सन स्प्रे’ क्षणभरमा छर्केर सक्यो । स्थानीय अगुवा सोकेन्द्र थापा, जगन्नाथ सापकोटालगायतले त्यसको अगुवाइ गरे ।
प्रहरी बिटका प्रमुख कमल बस्याल पनि दमकल टोलीलाई सहयोग गर्न साथमै थिए । दमकमलले स्प्रे सकेपछि सेल्फ क्वारेन्टाइनमा रहेर दूरी कायम गर्दै जम्मा भएका स्थानीयवासीले एकै स्वरमा भने, ‘पहिला त नानीको स्वास्थ्य राम्रो होस्, हाम्रो यही कामना छ ।’ उनीहरुले थप्दै गए, ‘त्यसपछि परिवार सुरक्षित हुनुप¥यो । हामी त आफैँ पनि ध्यान दिइरहेका छौँ ।’ उनीहरुमा त्रासभन्दा पनि बढी युवती र उनका परिवारलाई केही भइहाल्छ कि भन्नेमा बढी चिन्ता थियो ।
युवतीका परिवार सबै सामान्य अवस्थामा नै थिए, न रुघाखोकी लागेको थियो, न त श्वासप्रश्वासमा कुनै समस्या नै । अहिलेसम्म परिवारका कुनै पनि सदस्यलाई ज्वरो पनि नआएको युवतीकी फुपूले बताइन् । त्यहाँ कसैमा पनि कुनै चिन्ता देखिएन, सबै आ आफ्नै सुरक्षित भएर काम गरिरहेका थिए । खेतबारीमा काममा नगएकाहरु भने परिवारसँगै लकडाउनलाई पालना गरिरहेका थिए ।
‘हामी सेल्फ क्वारेन्टाइनमा छौँ, अगुवा सोकेन्द्र भन्दै थिए, चिन्ता गर्नुपर्ने केही छैन । बाहिर मिडियामा आएजस्तो बिग्रेको पनि केही छैन ।’ त्यतिबेला फोकलपर्सन जिसी भने लकडाउनलाई पालना गरेर मात्रै कोरोना भाइरसको संक्रमणलाई जित्न सकिने कुरा सम्झाउँदै थिए, स्थानीयवासीलाई ।
सिंगो कुडुँलेभर नै डिस्इन्फेक्सन स्प्रे छर्केर सुरक्षाको अनुभूति दिन स्थानीयवासीले माग गरे । छिमेकी रीता शर्माले भनिन्, ‘पहिला नानीको स्वास्थ्यको ख्याल गर्नुहोस्, अनि हामीलाई सुरक्षित बनाउनुहोस् ।’ रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी