काठमाडौं – सिद्धार्थ बैंकले ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हेल्पिङ हेण्ड्स सामुदायिक अस्पतालसँग सहकार्य गरेको छ ।
उक्त सहकार्यात्मक सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले हेल्पिङ हेण्ड्समा उपचार गराउँदा ५० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । बुधवार आयोजित एक कार्यक्रमबीच बैंक र हस्पिटलबीच सोसम्बन्धी सहमति भएको हो । बैंकका पेमेण्ट सोलुशन्स विभागका सुरेशराज महर्जन र अस्पतालका अध्यक्ष डा. कृष्णप्रसाद अधिकारीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै, सिद्धार्थ यूएनओ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा थप साढे २ प्रतिशत छूट पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले देशभर १ सय २६ शाखा तथा १ सय ३१ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।