Skip to content
LAXMI SUNRISE BANK

कैलाश बिकास बैंकमा यस्तो मनपरी : ‘बाफिया’ले तोकेको योग्यता नै नपुगेका चिन्ता मणि पाण्डे अझै सञ्चालक पदमा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय ६० बर्षभन्दा माथिका कर्मचारीहरुलाईसमेत ‘करार’मा राखेको, आफ्नो ‘अथोरिटी’बाहिरको काम गर्न सीईओ लागि परेको, कर्मचारीले बचतकर्ताको पैसा ठगेर भागेको लगायतका थुप्रै प्रकरणमा परेर विवादमा आइरहेको कैलाश बिकास बैंकको अर्को कर्तुत सार्वजनिक भएको छ । बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा उल्लेख भएको सञ्चालकको योग्यता र कार्यानुभवलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धि विनियमावलीमा थप स्पष्ट उल्लेख भएको आवश्यक योग्यता तथा कार्य अनुभव विपरित बैंकका संचालक चिन्ता मणि पाण्डे अझै बैंकको सञ्चालक पदमा बसेको तथ्य अर्थ सरोकार डटकमले फेला पारेको छ ।

नियममा के छ ?
बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा स्पष्टसँग सञ्चालकको योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर भएको, वा स्नातक उपाधि हाँसील गरी ३ बर्ष अनुभव भएको वा ५ बर्षको तोकिए बमोजिमको अनुभव भएको हुनुपर्ने उल्लेख छ । त्यसलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धि विनियमावलीले पनि थप स्पष्ट पारेको छ जसका अनुसार बैंकको सञ्चालक हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष काम गरेको,वा 
स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन बर्ष काम गरेको वा, 
व्यवस्थापन बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशाश्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासील गरेको हुनुपर्ने उल्लेख छ । हेरौं नियम जस्ताको त्यस्तै 

के हो चिन्ता मणि पाण्डेको योग्यता ?
हाल कैलाश बिकास बैंकमा सञ्चालकको पदमा रहेका चिन्तामणि पाण्डेको शैक्षिक योग्यता एसएलसी मात्र हो । त्यसैले उनले बैंकको सञ्चालक हुनका लागि विनियमावलीमा उल्लेख भएको क (आ) बुँदा अनुसारको अनुभव अर्थात ‘विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष काम गरेको’ अनुभव पूरा गर्नुपर्ने हुन्छ । तर यस अघि पनि मिसन डेभलोपमेन्ट बैंकमा समेत सञ्चालक रहेका उनीसँग अहिलेको समयमा नै हिसाव गर्ने हो भने पनि झन्डै साँढे ४ बर्षको मात्र अनुभव छ । यहि ५ बर्षको अनुभव पुर्याउन उनी नियम मिचेर बैंकमा बसीरहेको बैंक स्रोतको दावी छ । यसअघि पनि मेगा बैंकका संचालक सीएन पाण्डे अनुभव झन्डै ४ बर्ष बढी हुँदा शैक्षिक योग्यता नपुगेका कारण बैंकको सञ्चालक पदबाट निकालिएका थिए ।
यसबारे बुझ्न खोज्दा सीईओ र ‘अयोग्य’ सञ्चालक दुवै सम्पर्कमा आएनन् !
यस विषयमा बुझ्न हामीले चिन्तामणि पाण्डेलाई फोन गर्दा सम्पर्क हुन सकेन भने सोहि विषयमा बुझ्न हामीले बैंकका सीईओ अमृतचरण श्रेष्ठलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । यसो त अहिले अमृतचरण श्रेष्ठ निकै व्यस्त पनि छन् । अहिले बैंकमा घटेको एक करोडको ‘फिक्स्ड डिपोजिट’ घोटाला प्रकरणमा ठाडो रुपमा मुछिएपछी अहिले सीईओ श्रेष्ठ प्रहरी र राष्ट्र बैंक धाइरहेका छन् । यस विषयमा तयार भएको EXCLUSIVE सामाग्री हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।

यो पनि पढ्नुहोस् :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK