- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वैशाख ३१ गतेदेखि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीको आइपिओ प्रतिकित्ता १०० रुपैयाँको दरले जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने जेठ २९ गतेसम्म भर्न पाइने व्यवस्था छ ।
आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमार्फत सेयर भर्न सकिनेछ । यसमा न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन पाइन्छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो । रैराङको प्रतिसेयर नेटवर्थ ९७.४४ रुपैयाँ रहेको छ । जारी पुँजी ५६ करोड रुपैयाँको १५% सेयर निष्कासन गर्न लागेको हो ।