×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संगठनका नाममा ‘गुण्डागर्दी’ गर्दै लगानीकर्ताका कथित संघहरु, बैंकरलाई थर्काउनेदेखि धम्काउनेसम्मका हर्कत !

PRIME CA

संगठनका नाममा ‘गुण्डागर्दी’ गर्दै लगानीकर्ताका कथित संघहरु, बैंकरलाई थर्काउनेदेखि धम्काउनेसम्मका हर्कत !

अर्थ सरोकार

२३ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
घटना नम्बर १ :
बजारमा नाम चलेको एक बैंकले एक ठुला लगानीकर्तालाई पटक-पटक मार्जीन कल गर्यो । बजार घटेकाले मार्जिन कल गर्नुपर्ने अवस्था पनि थियो । तर कुनै एक संघमा आवद्ध भएका ती व्यक्तिले आफु फलानो संगठनको मान्छे हो भन्दै बैंकलाई थर्काए । बजार घटेकाले नियमअनुसार बैंकसँग मार्जिन कल गर्नुको विकल्प पनि थिएन । तर ती ठुला लगानीकर्ताले भर्खर खुलेको आफ्नो संगठनको फुर्ती ठुलै देखाए । जिनतिन यो घटना सामसुम भयो । केहि समयपछि उक्त संगठनमा रहेका ती ठुला लगानीकर्ताले त्यो संघ नै छोडेर अर्को संघमा गए । अव उनको ‘बार्गेनिङ पावर’ ठुलो भएको विश्लेषण गर्दै कतिपय बैंकहरुले उनलाई मार्जिन कल गर्न समेत डराए । अहिले विभिन्न बैंकहरु उक्त लगानीकर्तालाई कर्जा दिएकोमा पछुतो मान्न थालेका छन् । 
घटना नम्बर २ 
साना लगानीकर्ताको हक हितका लागि भन्दै भर्खर एउटा संस्था दर्ता भएको थियो । रिलायबल डेभलोपमेन्ट बैंकको हकप्रद प्रकरणबारे बुझ्न गएका पत्रकारलाई बैंकले जवाफ दियो, ‘लगानीकर्ताको भनिएको संघलाई त हामीले मिलायौं, तपाईं यसरी समाचार नछापीदिनुस् न !’ अचम्म ! के भएको रहेछ भनेर बुझेको त आफुलाई लगानीकर्ताहरुको संघ भन्न रुचाउने एउटा संगठनका अध्यक्षले गएर सिधै बैंकमा बार्गेनिङ गरेछन् । पछी उनको ऋणको ब्याज मिलाइदिने वा केहि ‘दानापानी’ दिने सर्तमा उनलाई फकाइएको रहेछ ।
घटना नम्बर ३
घटना नम्बर २ कै संगठनका एक पदाधिकारीले विभिन्न संस्थामा आफु फलानो संगठनको मान्छे हो भन्दै भित्री जानकारी माग्दा रहेछन् । नमाने थर्काउँदा रहेछन् । यो कुरा संघले थाहा पाएपछी उनले त्यो संगठन छोडे । पछी आफु छुट्टै संगठन खोल्छु भन्दै हिंडेका थिए, तर उनले खोल्छु भनेको अर्को संस्था दर्ता भएकै छैन । तर उनीपनि कतिपय बैंकमा ‘गुण्डा’ भनेर चिनिन्छन् । कतिपय बैंकरहरुले उनी भेट्न आएको थाहा पाउने बितिक्कै बैठक छ भनेर टारीदिने गर्छन् ।
बैंकहरुमा बदनाम हुँदै लगानीकर्ताका भनिएका संघ-संगठनहरु 
‘हामीलाई त फलानो संघको मान्छे वा फलानो फोरमको मान्छे भनेपछी रिस उठ्छ’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘लगानीकर्ताको मुद्धा कतै छैन । एउटा फोरम छ, खाली आन्दोलन गर्छु भन्छ, लगानीकर्ता फसाउंछ, अर्थमन्त्रीलाई भेटेर के के न गर्यौं भन्ठान्छ, मन्त्रीले मार झपारेर पठाएको पत्तो पाउँदैन् ।  अर्को संघ छ अध्यक्ष नै एक बर्षमा दुइफेर फेरिन्छन्, कहिले महासचिव भनेर फोन आउँछ, मार थर्काई खाइन्छ, कहिले के ।  अर्को संघ छ, मान्छे को को छन् थाहा छैन, अध्यक्ष फोन गरेर म फलानोको अध्यक्ष भन्छ । कर्जा नदिए, थर्काईहाल्छन् । लगानीकर्ता पनि भेडा छन्, यिनले भनेको पत्याईहाल्छन् । के गर्ने ? किन रिस्क लिने ? अनि पछी मार्जिन कल गर्यो फेरी थर्काउँछन् ! फकाउनु र बजार बढेको कुर्नुबाहेक विकल्प नै छैन ।
के भन्छन् यस्ता संगठनका नेतृत्वकर्ता  ?
यस विषयमा हामीले सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल र इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलसँग प्रतिक्रिया लिएका थियौं । ‘हाम्रो संघका एकजना पधाधिकारीले बैंकलाई थर्काएको बारे हामीले पनि जानकारी पाएका थियौं । पछी उहाँमाथि स्पष्टीकरण पनि मागिएको हो । पूर्व अध्यक्षले कुनै संस्थामा गएर अलि गलत कुरा गरे भन्ने पनि सुनिएको हो । तर त्यसको प्रमाण भेटिएन । प्रमाण नभेटिएपछी केहि गर्ने कुरा पनि भएन । अहिले पनि अन्य केहि संगठनका मान्छेले पनि बैंकरहरुलाई थर्काउने गरेको भन्ने सुनिएको छ । यो सरासर गलत छ । प्रमाण भेटिए मलाइ पनि कारवाही हुनुपर्छ र अरुलाई पनि छोडिन्न ।’
यता इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेललाई हामीले, ‘तपाईंको फोरमको एउटा पधाधिकारीले त बैंकरहरुलाई मार्जिन कल आएपछी थर्काउनु भएछ नि ?’ भनेर सोध्दा उनले जवार दिए, ‘ए ! फेरि आजभोलि पनि थर्काएछन् ?’ 
हामीले बैंकरको यस्तै गुनासो रहेको बताएपछी उनले फेरी थपे, ‘पहिला एक पटकचाहिं थर्काए भन्ने सुनेको हो, फेरिचाहिं थाहा भएन । एक पटक उहाँ सम्बन्धित मान्छेलाई पनि सोध्नुहोस् न !’ यद्यपी उनले पनि संगठनका नाममा त्यसो गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । ‘सुनिएको हो । तर ठ्याक्कै प्रमाण भेटिएको छैन । के गर्ने ?’ उनले अर्थ सरोकार डटकमसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: