
नेपाली बजारमा पछिल्लो समय अत्यधिक मात्रामा मौलाएको व्यवसायमा स्वदेशीभन्दा पनि विदेशी गुणस्तरहीन जुत्ताचप्पलको बिक्री हुँदै आएको भेटिएको छ । विदेशबाट अतिकमसल जुत्ताचप्पलको आयात गरेर स्वदेशी बजारमा नेपाली उत्पादनको लोगो टाँसी आफूअनुकूलको मूल्यमा बिक्रीवितरण हुँदै आएको जुत्ता व्यवसायीहरुले नै स्वीकारेका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम पाँच सय रुपैयाँ प्रतिजोर जुत्ता आयात गरेर आफूखुसी मूल्यमा व्यापारीहरुले बिक्री गर्र्दै आएको पाइएको हो । चीनबाट गुणस्तरहीन जुत्ताचप्पलको आयात गरेर नेपाली जुत्ताचप्पल हो भन्दै ‘मेड इन नेपाल’को स्टिकर टाँसेर उपभोक्ता ठगी गर्नेमा रन शुज र रोयल शुज अग्रणी सूचीमा रहेको व्यवसायीहरुले बताएका छन् । सो कार्यमा उपभोक्तालाई महंगोमा अर्थात् आफ्नो मूल्यमा बिक्रीवितरण गर्नमा सरकारी कर्मचारीको संलग्नतामा हुने गरेको आरोप लागेको छ । प्राप्त विवरणअनुसार सो अवैध कार्यमा आन्तरिक राजस्व विभाग, भन्सार विभागका कर्मचारीहरुकै संलग्नतामा न्यून मूल्याङ्कन गरेर जुत्ताचप्पल आयात गर्दै आएका छन् ।
४५ रुपैयाँको जुत्ताचप्पललाई १० हजारमा बिक्री
आर्थिक वर्ष २०७३/०७४ मा भन्सार नाका हुँदै नेपाल आयात भएको तीन करोड ९१ लाख ३९ हजार सात सय ९४ जोर जुत्ता आयात भएकोमा दुई करोड ९५ लाख ७६ हजार एक सय ६३ जोर अर्थात् ७५ दशमलव ५७ प्रतिशत जुत्ता एक सय रुपैयाँभन्दा कम मूल्यमा प्रतिजोर आयात भएको तथ्याङ्क भन्सार विभागको रहेको छ । त्यसैगरी ९० करोड ७४ लाख ४८ जोर अर्थात् २३ दशमलव १८ प्रतिशत जुत्ता २ सय रुपैयाँ प्रतिजोर आयात भएको छ । १ दशमलव १३ प्रतिशत जुत्तामात्र दुई सय रुपैयाँभन्दा माथिको आयात भएको रेकर्ड विभागमा रहेको छ । सोही जुत्ताचप्पल नेपाली बजारमा न्यूनतम एक हजार पाँच सय रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्ममा बिक्रीवितरण हुँदै आएको पाइएको छ ।
अधिकांश व्यवसायीहरुले विदेशी गुणस्तरहीन जुत्ताचप्पललाई स्वदेशीको लोगो टाँसेर आप्mनै मूल्यमा बिक्री गर्दै आएको आरोप समेत उपभोक्ताहरुको रहेको छ । यसै सम्बन्धमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष रविनकुमार श्रेष्ठले भन्सार नाकाबाट चोरी निकासी हुँदै आएको र कतिले भन्सार तिरी ल्याएको जुत्ताचप्पलमा पनि न्यून मूल्यांकन गरेर ल्याएकाले नेपाली जुत्ताचप्पल उत्पादन नै गर्ने व्यवसायी मर्कामा परेको बताए । उनले भने, ‘एक/दुई जना साथीहरुले कम मूल्यमा जुत्ताचप्पल आयात गरेर नेपाली भन्दै बेचेका कारण सबै जुत्ताचप्पललाई उही बास्केटमा हालेर हेरिनाले असली नेपाली उत्पादकहरु दैनिकरुपमा घाटामा गएका छन् ।’
सो अवैध कार्यमा जुत्ता व्यवसायीसँगको मिलेमतोमा आफूअनुकूल मूल्य राखी चीनबाट आयात गरिएको जुत्ताचप्पल अत्यधिक महंगोमा बिक्री गर्ने गरेको पाइएपछि मौखिक रुपमा त्यसो नगर्न आग्रह गरेको समेत अध्यक्ष श्रेष्ठले बताए । सरकारी कर्मचारी नै प्रयोग गरी सो व्यवसायीहरुले उपभोक्ता ठगी गरिरहँदा समेत पटक–पटक ठगीको समाचार सार्वजनिक हुँदा समेत उनीहरुमाथि सरकारी निकायबाट कुनै अनुगमन समेत नहुँदा अवैधरुपमा जुत्ताचप्पलको आयातमा तीव्रता आएको छ । स्वदेशी उत्पादनको नाम दिँदै लामो समयदेखि उपभोक्तालाई ठगी गरेको खुलासा हँुदा सरकारी निकाय मौन रहनु नै यसको प्रमाण भएको छ ।
भूकम्पपछि बन्द हुनभन्दा अघि सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अत्यधिक रुपमा जुत्ताचप्पल आयात हुने गरेको थियो । अहिले सो नाका बन्द भएपछि प्रायः चिनियाँ नाकाभन्दा पनि भारतीय नाकाबाट गुणस्तरहीन जुत्ताचप्पल आयातमा वृद्धि भएको छ । नेपालमा अझैसम्म स्पोटर््स जुत्ता उत्पादन गर्ने कुनै पनि मेसिन नभएको जुत्ता व्यवसायीहरुले बताए पनि नेपालमै उत्पादन भएको भन्दै स्पोटर््स जुत्ताहरु समेत बिक्रीमा राखिएका छन् ।
लामो समयदेखि स्टोरमा जम्मा गरेका जुत्ताहरु बिक्री नभएपछि १२ महिना नै मेला लगाएर उपभोक्तालाई ठगीमात्र हैन सरकारलाई बुझाउनुपर्ने कर र मूल्य अभिवृद्धि कर (भ्याट) समेत छली गर्दै आएका छन् । सो जुत्ताचप्पलहरुले प्रयोग गरेका कुनै पनि ब्राण्ड दर्ता गरिएका छैनन् । अधिकांश जुत्ता व्यवसायीहरुले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारबाट न्यूनतम मूल्यमा जुत्ता आयात हुने गरेको छ । गोप्य रुपमा प्राप्त विवरणअनुसार चीनको स्वशासित क्षेत्र तिब्बतको स्थानीय बजारमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई सय नेपाली रुपैयाँमा प्रतिजोर जुत्ता नेपाल आयात हुने गरेको समेत व्यवसायीले नै बताएका छन् ।
चिनियाँ न्यून गुणस्तरीय जुत्ता, चप्पलको आयात गरी उच्च नेपाली ब्रान्डको भन्दै विना स्वीकृति बजारमा बिक्रीवितरण हुँदै आएको छ । यसैबीच, रन शुजको नाममा व्यापारीले उपभोक्तालाई बिक्री गर्दै आएको जुत्ता सबैभन्दा गुणस्तरहीन रहेको उपभोक्ताहरुको भनाइ रहेको छ । सुरुमा शिखर शुजको सामान्य मजदुरको रुपमा काम गरेका रन शुजका मालिक रुद्र न्यौपाने एकाएक अवैध कारोबार गरी चीनको खासा बजारबाट कम गुणस्तरको जुत्ता आयात गरी नेपाली स्टिकर टाँसेर बिक्रीवितरण गर्र्दै आएको आरोप समेत लाग्दै आएको छ । सो सम्बन्धमा पटक–पटक न्यौपानेलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । सस्तोमा सामान उठाउने र त्यही सामानलाई उच्च ब्राण्ड र नेपाली उत्पादन भन्दै बिक्रीवितरण हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा लाखौँ रुपैयाँ राजस्व गुम्न पुगेको छ भने अर्कोतर्फ उपभोक्ताहरु ठगिनुपरेको छ ।- आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्