Skip to content
LAXMI SUNRISE BANK

उद्योगी राठीद्वारा गेट पासबाट खाद्य बिक्री गरी करोडौं राजस्व ठगी गरेको खुलासा

अर्थ सरोकार

औद्योगिक नगरका रुपमा परिचित विराटनगरमा यसबेला आएर आर्थिक अनियमितताका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक बन्न थालेपछि राजस्व चोरी प्रकरणहरु खुल्न थालेका छन् ।
खाद्य उत्पादनका नाममा उद्योगी र उद्योगबाट हुने ठाडै राजस्व चोरी प्रकरणले अहिले विराटनगरवासीलाई नै चकित बनाएको छ । उद्योगबाट उत्पादन भई बजारमा पठाउँदा भ्याटबिल नै जारी नगरी राजस्व छलेर उत्पादित वस्तु बिक्रीवितरण गरेको तथ्यहरु सार्वजनिक भएका छन् । आन्तरिक राजस्वतर्फ विराटनगरलगायत छेउछाउमा सञ्चालन भएका खाद्यान्न उद्योहरुबाट वार्षिक विवरण बुझाएर नाजायज फाइदा लिन अहिले सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित खाद्यान्न उद्योग र उद्योगीहरु आफैं सक्रिय भएको रहस्य पनि समाचार स्रोतले खोलेको छ ।
लामो समयदेखि धान, चामल, तेल, ब्रान र भुसाको कारोबार गर्ने विराटनगर उपमहानगरपालिका (साविक वडा नम्बर ४) र हाल वडा नं. ३ मा सञ्चालन भएको चन्द्र शिव राइस मिलबाट उत्पादन हँुदै आएको घैलाछाप ब्रान्डको चामल र तेल बिक्री गर्दा सामान्य गेटपासका भरमा बिक्री गर्ने गरेको तथ्य सार्वजनिक भएसँगै उक्त उद्योगबाट हुने ठाडै राजस्व चोरीका प्रकरणले सबैलाई चकित बनाएको छ । उक्त मिलका मुख्य सञ्चालक बनेका नरेश राठीको कमाउ प्रवृत्तिले सरकारलाई दैनिक लाखौं रुपैयाँको राजस्व गुमिरहेको छ ।
चन्द्र शिव राइस मिलले वार्षिक ४० देखि ५० करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने गरेको दाबी समाचार स्रोतले गरेको छ । खाद्यान्न उद्योगहरुले आफूले उद्योगमा उपभोग गरेको बिजुली खपत र भुसा बिक्रीको आधारमा उसको कर निर्धारण हुने प्रावधान भएकाले उसको उत्पादनमा लाग्ने भ्याट नै चोरी गरी सञ्चालक नरेश राठीले करोडौंको राजस्व चोरी गर्दै आएको समाचार स्रोतले दाबी गरेको छ ।
उद्योगी राठीले उत्पादन गर्दै आएको घैलाछाप खाने तेल र चामल बिक्री गर्दा सामान्य गेटपासका भरमा वील बिजक नै जारी नगरी खाद्यान्न बिक्री गरेको प्रमाण फेला परेसँगै उनको असलियत बाहिर आएको हो । दैनिक लाखौंको कारोबार गर्दै आएका सञ्चालक राठी अहिले विराटनगरमा बदनाम भएका उद्योगीमा पर्छन् । उनले बिक्री गर्दै आएको चामल तथा तेलमा समेत कम वजन रहने गरेको जानकारी व्यवसायीले दिएका छन् । उनले उत्पादन गर्दै आएको चामलका २५ केजी र ५० केजीका बोराहरुमा प्रतिबोरा दुई केजीको वजन कम रहने गरेको ती व्यवसायीले बताए । त्यसका लागि विराटनगरमा रहेको गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनिष कुमार सुमनसमेतको संलग्नता हुनसक्ने आशंका गरिएको छ । पछिल्लो समय अकूत सम्पत्तिसमेत जोड्न सफल भएका राठी मोरङको बूढीगंगा गाउँपालिकामा केही उद्योगीहरुसँग मिली सिमेन्ट उद्योग स्थापना गर्न कम्मर कसेर लागेका छन् । त्यसैले उनी अहिले बजारमा एक्कासि चर्चाको पात्र बन्न पुगेका छन् ।
समान्य धान चामलको कारोबारमा रहेका व्यक्तिबाट उद्योग स्थापना भएपछि उनले कुन स्रोतबाट सम्पत्ति आर्जन गरेका हुन् भन्ने विषय महत्वपूर्ण भएको सरोकारवाला निकायबाट खोजी भइरहेको छ । उनले आफूले उत्पादन गर्ने भनिएको चामल पनि भारतबाट नै आयात गरी आफ्नो ब्रान्डमा प्याकिङ गरेपछि मात्र बजारमा पठाउने गरेको सूचना प्राप्त भएकाले वास्तविकता बुझ्ने काम भइरहेको जानकारी दिएका छन् । उद्योगी राठीलाई पटक–पटक फोन सम्पर्क गरी वास्तविकता बुझ्ने प्रयास गर्दासमेत राठी सम्पर्कमा आउन चाहेनन् । – आर्थिक दैनिकबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK