धादिङ – छिमेकी–छिमेकीबीच भएको झगडालाई धादिङको धुवाकोटमा राजनीतिकरण गरेपछि पार्टीहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । नीलकण्ठ नगरपालिका–१४ धुवाकोटको टारमा शुक्रबार बिहान छिमेकीहरुबीच भएको झगडामा धुवाकोटस्थित कांग्रेस सभापति २६ वर्षीय सन्तोष बस्ताकोटी घाइते भएपछि छिमेकीको झगडाले राजनीतिक रुप लिएको हो ।
घटना विवरण अनुसार बिहीबार बेलुका त्यसै गाउँका ४५ वर्षीय टेकबहादुर बस्तीलाई रक्सी खाएर हल्ला गरेको आरोपमा बस्ताकोटीले कुटपिट गरेका थिए । घटनापछि शुक्रबार बिहान बस्ती परिवार बस्ताकोटीसँग घटनाबारे छलफलका लागि गएको समयमा बस्ताकोटीले टेकबहादुरका छोरा नारायणलाई कुटपिट गरेको स्थानीय बासिन्दाले जनाएका छन् ।
घाइते बस्ताकोटीलाई नेपाली कांग्रेसले हेलिकप्टरबाट उपचारका लागि काठमाण्डुको ट्रमा सेन्टरमा पठाएको जनाएको छ ।
वाम गठबन्धनका कार्यकर्ताले घरमा सुतिरहेको अवस्थामा अघिल्लोदिनदेखि नै लुकेर आक्रमण गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति देवी कोइरालाले बताए ।
घटनाका सम्बन्धमा नेकपा एमाले प्रदेश कमिटीका सदस्य गुरुप्रसाद बुर्लाकोटीले सामान्य व्यक्तिगत घटनालाई पार्टीकरण गरी चरित्रहत्या गर्न खोजेको आरोप लगाए ।
जिल्लाभर भइरहेका राजनीतिक घटना र चुनावी तयारी अन्तर्गत छलफल गर्न प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले सर्वपक्षीय बैठक राखेर छलफल गराएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले नाराण वस्ती, रामचन्द्र वस्ती र कुमार वस्तीलाई पक्राउ गरेको छ ।
यसैगरी उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–२ लब्दुङमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । घटना हुँदै गर्दा प्रहरी घटनास्थलमा पुगेकोले अवस्था सामान्य बनाइएको प्रहरीले जानकारी दिएको छ । – काठमाडौँ टुडे