
काठमाडौँ- विराटनगर भन्सारका एजेन्ट र व्यापारीको अवैध साँठगाँठ हुँदा पनि सम्बन्धित निकायहरु मौन रहेको पाइएको छ । विराटनगर महानगरपालिका–७ मा सञ्चालित जयलक्ष्मी इलेक्ट्रिक स्टोर्सका सञ्चालक मनोज कुमार तोदी र भन्सार एजेन्ट देवकी शर्माका बीचमा बढ्दै गएको सामिप्यताले भन्सार पासविना नै विराटनगरमा सामान भित्रिन थालेको स्रोतले जानकारी दिएको छ ।
विराटनगरको हनुमानदास रोडमा रहेको जयलक्ष्मी इलेक्ट्रिक स्टोर्सका सञ्चालक मजोज कुमार तोदीले आफ्नो व्यवसाय पनि ०५६ सालमा नै भ्याट दर्ता गराएका छन् । उनले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ३०००९८३४१ नम्बरको भ्याट दर्तासमेत पाएका छन् । तर पछिल्लो समय सरकारबाट जीएसटी प्रणालीमार्फत सामानको आयात तथा निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण सञ्चालक तोदीले अहिले विराटनगर भन्सारमा दुई जना भन्सार एजेन्टको व्यवस्था मिलाएको थाहा भएको छ ।
भन्सार एजेन्ट शर्माले तोदीका ठूला कन्टेनर र ट्रकमा आएका सामानको भन्सार क्लियरिङ गर्दछन् भने अर्का सञ्जय सिंगले ठेला र रिक्सामा तोदीको सामान भन्सार जाँचपास गर्ने गरेको भन्सार एजेन्ट नै बताउन थालेका छन् । ठेला र रिक्सामा आएका सामान पाँच लाख मूल्यभन्दा बढीको ल्याउन नपाउने प्रावधान भन्सारले गरे पनि इलेक्ट्रिक व्यापारी मनोज तोदीका लागि कुनै बन्देज नलगाइएको भन्सार स्रोतले जानकारी दिएको छ । दीपावलीमा बत्तीको काम अत्यधिक हुने भएका कारण पनि अहिले मनोज तोदीका लागि कमाउने अवसर भएको जानकारहरु बताउँछन् ।
भन्सारनाकाबाट अत्यन्त न्यून सामान आयात भएको देखाउने जयलक्ष्मी इलेक्ट्रिक स्टोर्सका सञ्चालक तोदीले वार्षिक २० करोडभन्दा माथिको कारोबार गर्ने गरेको भए पनि आन्तरिक राजस्व कार्यालयमा वार्षिक विवरण बुझाउँदा चार करोड ६२ लाखको कारोबार देखाएपछि उनको कारोबार नै शंकाको घेरामा परेको राजस्व कर्मचारी स्रोतले जानकारी दिएको छ । इलेक्ट्रिकको होलसेल र रिटेल दुवै कारोबारमा पोख्त मानिएका तोदीले अधिकांश सामान भन्सार जाँचपासविना नै ल्याउने र आफ्नो कारोबार गर्ने गरेको दाबी पनि समाचार स्रोतहरु गर्दछन् । इलेक्ट्रिक व्यापारका खेलाडी मानिएका तोदी पछिल्लो समय विराटनगरका व्यापारीहरुबीच नै विशेष चर्चाका पात्र बन्न थालेपछि उनको कारोबारमाथि नै अनुसन्धान सुरु भइसकेको राजस्व कर्मचारी स्रोतले जानकारी दिएको छ ।
तोदी र भन्सार एजेन्ट देवकी शर्माले मधेसवादी दलको तराई बन्द र आम हडताल चलेको बेला स्कर्टिङमार्फत विराटनगर भन्सारबाट सामान आयात गर्दा जाँचपास नै नगरेको र राजस्वसमेत नतिरेको भेटिएपछि करिब १५ लाख मूल्यबराबरको इलेक्ट्रिक सामान विराटनगरबाट पक्राउसमेत गरेको थियो । त्यही अभियोगमा विराटनगर भन्सारबाट एजेन्ट शर्मालाई कारबाही भएर केही महिना पहिले मात्र निलम्बन फुकुवा भएका हुन् । त्यसबेला एजेन्ट शर्माले तोदीको नाममा सञ्चालित जयलक्ष्मी ईलेक्ट्रिक स्टोर्सका सामान भन्सार नै नतिरी नेपाल भित्र्याएका थिए । त्यसबेला उनलाई सहयोग गर्ने र उक्त माल जाँचपास नै नगरिकन छोड्ने विराटनगर भन्सारका कर्मचारीहरु अमृत घिमिरे र हिमाल दाहाललाई भन्सार विभागबाट समेत निलम्बन गरी कारबाही गरिएको थियो । तर मुख्य व्यापारी तोदीलाई भने उन्मुक्ति दिइएका कारण अहिले फेरि उनी त्यस्तो व्यापारमा सक्रिय भएको बताउन थालिएको छ ।
भन्सार एजेन्ट एवं शर्मा क्लियरिङका सञ्चालक देवकी शर्मालाई विराटनगर भन्सारका तत्कालीन भन्सार प्रमुख विनोद कुँवर र राजेन्द्र दाहालले पटकपटक कारबाहीको चेतावनी दिएका थिए भने निवर्तमान भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले लामो समयसम्म निलम्बन गरी कामबाट वञ्चितसमेत गराएका थिए । भन्सार एजेन्ट शर्माले भन्सार जाँचपास गराउँदा आधा सामानको भन्सार काट्ने र आधा सामान भन्सार नै नतिरी टपाउने गरेको आरोप अहिले पनि लाग्ने गरेको छ । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्