×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले के भने वाम एकता र तालमेलबारे पार्टीका नेताहरुलाई ?

LAXMI SUNRISE BANK

प्रचण्डले के भने वाम एकता र तालमेलबारे पार्टीका नेताहरुलाई ?

२२ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले – माओवादी पार्टी एकताको प्रस्ताव आफ्नो भएको बताएका छन् । पार्टी एकताको प्रस्ताव एमालेको र उसले तयार पारेको मस्यौदामा माओवादीले ‘जस्ताको तस्तै’ सहमति जनाएको नभई यसपटक एमालेसँग एकताको प्रस्ताव आफैंले राखेको दाहालले खुलाए ।
विकसित राजनीतिक घटनाक्रममा पोलिटब्युरो सदस्यलाई राजनीतिक प्रशिक्षण दिँदै दाहालले एकले अर्को कम्युनिस्ट पार्टीलाई निल्न नसक्ने अवस्था आएपछि राजनीतिमा एउटा तरंग दिन आफूले त्यस्तो प्रस्ताव राखेको बताए ।एमालेसँग पार्टी एकतासम्मको सहमति गर्दा पार्टीभित्र संस्थागत निर्णय नभएको र आफूहरू अन्योलमा परेको नेताहरूको गुनासो बढेपछि दाहालले पार्टी पोलिटब्युरो सदस्यसम्मलाई शनिबार काठमाडौंमा बोलाई प्रशिक्षण दिएका हुन् ।
‘एमालेसँग चुनावमा ६०/४० मा तालमेलको कुरा भइरहेको थियो तर त्यसले मात्र नेपालको राजनीतिमा तरंग ल्याउँछ भन्ने मलाई लागेकै थिएन । मनमा गाँठो परिरहेकै थियो । म खुसी हुन सकिरहेको थिइनँ,’ दाहालले पार्टी नेताहरूलाई भने, ‘एक दिन एमाले नेता वामदेवसँग कुरा हुँदा तालमेल-सालमेल छाडौं पार्टी एकता गरौं भनेर हामीले भनेका हौं ।
एमालेबाट सुरु भएको यो पटक होइन, यो तथ्यमा स्पष्ट हुनुहोला, यो पटक पार्टी एकताको प्रस्ताव मैले एमालेसँग राखेको हुँ ।’एमालेसँग आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्नेसम्मको विकसित घटनाक्रम पार्टी नेतालाई सविस्तार सुनाउँदै दाहालले त्यसपछि विकसित घटनाक्रममा संस्थागत छलफल र बहस नगरी आकस्मिक र आश्चर्यजनक रूपमा नेतृत्वले यस्तो निर्णय लिनुपरेको सुनाएका थिए ।
उनले आफ्नो त्यस्तो प्रस्तावपछि वामदेव उत्साहित हुँदै एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव पुर्‍याएको र त्यही दिन दुई अध्यक्षबीच एक्ला-एक्लै छलफल भएर एकताको निष्र्कषमा पुगिएको बताए ।
‘कमरेड तालमेलभन्दा पार्टी एकतातिर लैजाऔं देशलाई । हामीले विगतमा गरेको प्रयास सफल हुन सकेन । फेरि एकपटक प्रयास गरौं । तपाइंहरूलाई हामी माओवादीप्रति र हामी माओवादीलाई तपार्इंहरूप्रति जसरी सोचिरहेका छौं, संघर्ष बहस गरिरहेका छौं, त्यो एकै ठाउँमा बसेर गरौं अनि तालमेल पनि फरक ढंगले जान्छ भनेर सिधै प्रस्ताव राखियो’, दाहालले ओलीसँगको एक्लै भएको भेटको प्रसंग स्मरण गर्दै भने, ‘त्यसपछि उहाँले प्रस्तावलाई सकारात्मक रूपमा लिनुभयो । अर्काे दिन हामीले फेरि बहस गरेर सहमतिको मस्यौदा तयार पार्‍यौं ।’
दाहालले यसलाई माओवादीको एमालेकरण र एमालेको माओवादीकरणको रूपमा कसैले पनि लिन नहुने भन्दै देशको आवश्यकताका आधारमा यस्तो निर्णयमा दुवै पार्टी पुगेको बताए ।दाहालले वाम एकताको प्रस्तावलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । ‘हामीभित्र जे समस्या आइलागेको थियो । यो समस्याले हल पायो अब । बहसमा अब भट्टीभित्र छिरिने भइयो । हामी भट्टीभित्र खरानी भएर को-को सिद्धिने हो, कोको स्पात बनेर निस्कने हो ? हाम्रो टेस्ट हुनेवाला छ’, दाहालले भने । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी