- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालको औपचारिक भ्रमणमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ आएका छन् । उपप्रधानमन्त्री वाङले केपी ओलीसहितको एमाले टोलीसंग छुट्टै भेटवार्ता गरेका छन् । एमाले पदाधिकारीसहितको भेटमा वाङले ‘चीनसँग सम्बन्ध सुधार्न तपाईं आउनु भयो’ भनेर सुरुमा नै अध्यक्ष ओलीको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । एमाले टोलीसँग भेटवार्ता सकेर अरु नेता बाहिरिएपछि वाङ र ओली दुई जनाको बीच मात्र आधा घण्टा छलफल भएको छ ।
वाङले पुष्पकमल दाहाल (प्रचण्ड) सहितको माओवादी केन्द्रसंग करिब ४५ मिनेट भेटवार्ता गरेका थिए । एमालेका नेताहरूले यो भेट वाङकै चाहनाका अनुसार छुट्टै रुपमा भएको बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले वाङ र ओलीबीच झन्डै २५ मिनेट छुट्टै वार्ता भएको तर के विषयमा कुराकानी भयो भन्ने चाही जानाकारी नआएको बताएका छन् । एमालेको सामुहिक वार्ता पनि अत्यान्तै हार्दिकतापूर्वक रहेको थियो ।
कोरला नाका खोल्न ओलीले आग्रहलाई वाङले त्यसलाई सकारात्मक रुपमा लिंदै सुरक्षाको दृष्टिकोणले अलि जटिल नै भएपनि म परराष्ट्रमन्त्रीमार्फत तुरुन्त सल्लाह गर्छु भन्ने जवाफ दिएको बताएका छन् । चिनियाँ नेताले यसरी काठमाडौँ आएर सबै दलका नेताहरुलाई छुट्टाछुट्टै रुपमा भेट्नुलाइ बडो अर्थपूर्ण रुपमा हेरिएको छ ।